पश्चिम सेती र पञ्चेश्वर परियोजना बने सुदूरपश्चिम समृद्ध हुन्छ : प्रधानमन्त्री

१५ बुँदे माग राखेर देउवालाई लगाइयो १५ किलोका माला


२२ मंसिर २०७९, बिहीबार
Sher bahadur Deuba

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत र पञ्चेश्वर परियोजना बनेमा सुदूरपश्चिम समृद्ध हुने बताएका छन् । देउवाले पश्चिम सेती परियोजना निर्माणका लागि भारतीय कम्पनीसँग सम्झौता भइसकेको बताउदै अब काम अघि बढ्नेमा पनि सरकार विश्वस्त रहेको बताएका छन् ।

कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै देउवाले पश्चिम सेतीसँगै पञ्चेश्वर परियोजना पनि निर्माण भए सुदूरपश्चिमको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । आयोजकले प्रधानमन्त्री देउवालाई १५ किलोको माला लगाउदै पश्चिम सेती परियोजना निर्माण, गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाकाका रुपमा स्तरोन्नती गर्नुपर्ने समेतका १५ बुँदे माग समेत राखेको छ ।

आयोजकले राखेका माग सम्बोधन गर्न सरकार सकारात्मक भएको बताउँदै देउवाले भारत भ्रमणका क्रममा गौरीफन्टा नाकाको स्तरोन्नतीको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले कुराकानी गरेको पनि बताए । देउवाले उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवले सुदूरपश्चिमको कला, संस्कृतिको प्रवद्र्धनमा उल्लेख्य भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले विधिवत रुपमा उद्घाटन गरेको सुदूरपश्चिम महोत्सव अगामी पुष २ गतेसम्म चल्ने आयोजकले जनाएको छ । कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्पराज ओझाले २१ बुँदे मागबाट सुरु भएको महोत्सवमा यस वर्ष भने प्रधानमन्त्री देउवालाई १५ किलोको माला लगाइएको बताए । २१ बुँदामध्ये केही माग पूरा भइसकेकाले मालाको तौल घटाइएको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७