‘लुटीखाने भाँडो’ बन्दै मनकामना मन्दिर


२ बैशाख २०७५, आईतवार
Manakamana nepal himalayas mountains adventure trekking

गोरखा, २ बैसाख : मनदेखिको आस्थाले पूजाआजा एवम् दर्शनका लागि लाखौँ मानिस ओइरिने मन्दिर क्षेत्रलाई लुटी खाने भाँडो बनाएको देख्दा जोसुकैलाई नरमाइलो लाग्छ । गोरखास्थित प्रसिद्ध मनकामना मन्दिरमा यस्तै भइरहेको स्थानीय भक्तजनको गुनासो छ । सँधियारले मन्दिरको जग्गा समेत मिचेका छन् । मनकामना क्षेत्रको विकास निर्माण एवम् व्यवस्थापनका लागि विसं २०५३ मा मनकामना क्षेत्र विकास समिति गठन भयो । समितिले मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन गरेका प्रयास सफल हुन नसकेको कार्यकारी निर्देशक गिरिधारी सापकोटा बताउँछन् ।Manakamana nepal himalayas mountains adventure trekking

‘सरकारअन्तर्गतको समितिभन्दा यहाँका व्यापारी बलिया छन्, समिति भन्दा पुजारी बलिया छन्, मन्दिरको भेटीघाटी पारदर्शी हुन सकेको छैन, मन्दिर जीर्णोद्धारका लागि विसं २०६८ मा गठन भएको समितिले स्थानीयवासीको सहयोग नपाउँदा अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन, मन्दिर जीर्णोद्धार अलपत्र छ’, उनी भन्छन् ।
मन्दिर प्रवेश गर्दा लाग्छ यो कुनै देवस्थलभन्दा पनि व्यापारिक केन्द्र हो । मन्दिरको जग्गा समेत कब्जा गरेर स्थानीयवासीले होटल एवम् पसल चलाएका छन् । मन्दिर वरपर अग्ला अग्ला भवन निर्माण भएका छन् । पुरातात्विक, धार्मिक एवम् ऐतिहासिक दृष्टिले महत्वपूर्ण मन्दिर रहेको स्थान वरपर मापदण्ड विपरीत घर बनेको समितिले जनाएको छ । मन्दिर व्यवस्थित बनाउनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगअदालत र सम्बद्ध मन्त्रालयका पदाधिकारीसम्म पुग्दा पनि केही हुन नसकेको कार्यकारी निर्देशक सापकोटाको गुनासो छ ।

मन्त्रालयका पूर्व सचिव प्रेमकुमार राईले केही गर्न खोजे पनि सरुवा भएकाले काम हुन नसकेको उनको भनाइ छ । मनकामना क्षेत्र वरपर धेरै होटल एवम् लज खुलेका छन् । मन्दिर क्षेत्रमा आउने भक्तजनलाई सेवा पु¥याउने उद्देश्यले खुलेका अधिकांश होटल दर्ता भएका छैनन् । दर्ता नभएका व्यवसायीले स्थायी लेखा (प्यान) नम्बर समेत लिएका छैनन् । राज्यलाई कर समेत नतिरी व्यवसायीले आफूखुशी गरेको भक्तजनको गुनासो छ । व्यवसायीले भक्तजन होटलभित्र पस्दा एउटा मूल्य भन्ने र खाएर निस्कँदा अर्को मूल्य भनेर बढी पैसा असुल्ने गरेका छन् । चैत २९ गते बिहीबार रामायण होटल एण्ड लजका सञ्चालकले झापाका राघवेन्द्र शर्मालाई रोटी वा भात भरपेट खाएको मूल्य १५० बताए । खाएर पैसा तिर्न खोज्दा ३ सय रुपैंयाँका दरले हिसाब गरेर पैसा मागे । पाँच जनाको समूहमा रहेका शर्माले कसरी भयो बिल पाउँ भनेपछि साहुले बिल छैन भन्ने जवाफ फर्काए । मनकामना क्षेत्रमा कसैले पनि बिल नदिने गरेको सम्बद्ध व्यवसायीको भनाइ छ ।

रामायण शुद्ध शाकाहारी भोजनालय भनी लेखिएको होटलअघिका व्यवसायी सानु थापा भने जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघको मिलेमतोमा मनकामना क्षेत्रका व्यवसायीले मनपरी मूल्य असुल्ने गरेको बताउँछन् । कुरिनटारबाट केबुलकारमा गएका यात्रु झरेर मन्दिरतर्फ उकालो लाग्ने बेलामा व्यवसायीले ‘पूजापछि भुजा खान आउनुस् १० मा’ भनेर दर्शनार्थीलाई बोलाउँछन् । सिँढीको दायाँबायाँ बस्ने होटलका कामदार ग्राहक तान्न तँछाडमछाड गरिरहेको भेटिन्छ । ‘मनकामना मन्दिर समेत आउने तस्वीर पाँच मिनेटमा १०० मात्र’ फोटो स्टुडियो चलाएका व्यवसायीको आवाज यसरी घन्किन्छ मनकामना क्षेत्रमा ।

नेपाल उद्योग वाणिज्य संघ मनकामना एकाइका सचिव हरिकुमार श्रेष्ठ व्यवसायीले ग्राहक तानातान गर्ने गरेको स्वीकार्छन् । ‘संघका तर्फबाट तानातान रोक्न, मूल्यसूची राख्न, सम्बन्धित सरकारी निकायमा दर्ता भई स्थायी लेखा नं लिएर व्यापार गर्न व्यवसायीलाई पटक–पटक पत्राचार गर्दा पनि अटेर गरेका छन् जसका कारण कति व्यवसायीसँग मुठभेड पनि भएको छ’ उनी भन्छन् । मनकामना मन्दिरअघि पुगेर हेर्दा लाग्छ अव्यवस्था हटेर व्यवस्थित हुने कहिले हो ? वीरगञ्जबाट आएका दर्शनार्थी मृत्युञ्जकुमार वर्णवाल मनकामना क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले ध्यान नदिएको गुनासो गर्छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७