अरुणाचल सीमामा भएको झडपमा केही सैनिक घाइते छन्, हताहती छैन : भारतीय रक्षामन्त्री सिंह


२७ मंसिर २०७९, मंगलवार
rajanath

नयाँदिल्ली । भारतका रक्षामन्त्री राजनाथ सिंहले उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशको सीमा क्षेत्र तवाङमा भारतीय र चिनियाँ सैनिकबीचको झडपमा हताहती नभएको जानकारी दिएका छन् । मंगलबार लोकसभालाई घटनाबारे जानकारी दिँदै रक्षामन्त्री सिंहले दुवै पक्षबीच झडप भएको र केही सैनिक घाइते भएको बताएका हुन् ।

3लोकसभामा सिंहले भने, ‘९ डिसेम्बर २०२२ मा चिनियाँ सैनिकले तवाङ क्षेत्रको यांग्त्से इलाकामा वास्तविक नियन्त्रण रेखा(एओसी) मा अतिक्रमण गरी एकतर्फी रूपमा परिवर्तन गर्न खोजे । चीनको यो प्रयासका बाबजुद हाम्रो सेनाले दृढताका साथ सामना गर्‍यो । यस घटनामा हातपाथ भयो । भारतीय सेनाले हाम्रो भूभागमाथिको अतिक्रमण प्रयास रोके र उनीहरू फिर्ता जान बाध्य भए । यस झडपमा केही सैनिकलाई चोट लागेको छ ।’

रक्षामन्त्री सिंहले घटनाबारे जानकारी दिँदै थपे, ‘मैले यस सदनलाई बताउन चाहन्छु कि हाम्रो सेनातर्फ कसैको मृत्यु भएको छैन । कोही पनि गम्भीर घाइते भएका छैनन् । चिनियाँ सेनालाई यस्तो घटना नदोहोर्‍याउनका लागि मनाइएको छ । सीमामा शान्ति कायम राख्नका लागि भनिएको छ । चिनियाँ पक्षसँग यस मुद्दालाई कूटनीतिक स्तरमा पनि उठाइएको छ ।’ शुक्रबारको घटनापछि शनिबार स्थानीय सुरक्षा कमान्डरले चिनियाँ पक्षसँग वार्ता गरेको पनि रक्षामन्त्री सिंहले बताए ।

घटना शुक्रबार घटे पनि सोमबार मात्र सार्वजनिक भएको थियो । सोमबार भारतीय सञ्चारमाध्यमले भारतीय सेनाको उच्च स्रोतको हवाला दिँदै तवाङमा झडप भएको समाचार प्रकाशित गरेका थिए । मंगलबार लोकसभा बैठकमा विपक्षले घटनाको ३ दिन बितिसक्दा पनि सरकार चुप बसेको भन्दै प्रश्न उठाएको थियो । विपक्षी दलले रक्षामन्त्री सिंहको बयानपछि सदन बहिष्कार गरेका थिए । बैठकमा कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले सरकारमाथि प्रश्न उठाउँदै भनेका थिए, ‘चीनले हाम्रो सीमामा घुसपैठ गरेको छ । यो झडप ९ डिसेम्बरमा भयो तर सरकारका तर्फबाट कुनै जवाफ आएन ।’

त्यस्तै एआईएमआईएम प्रमुख तथा सांसद असदउद्दीन ओवैसीले प्रधानमन्त्री मोदीले चिनियाँ घुसपैठबारे साँचो कुरा नबोलेको बताएका छन् । उनले भने, ’२ वर्ष पहिले पनि प्रधानमन्त्रीले भन्नु भएको थियो न कोही घुसेको छ न कोही घुस्नेछ । प्रधानमन्त्रीले साँचो बोल्नु भएन । अहिले पनि डेफसाङ र डेमचाङ चीनको कब्जामा छ । अहिले पनि १ हजार वर्गकिलोमिटर चीनको कब्जामा छ । तपाईं चीनका नेतालाई भेट्नुहुन्छ, हात मिलाउनु हुन्छ । अब हेर्नुहोस् नतिजा के आयो । प्रधानमन्त्री चीनसँग किन डराउनु हुन्छ भन्ने कुरा देशले जान्न चाहेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७