सौर्य ऊर्जाबाट पोखरी गाउँमा विद्युत् सेवा


२०७९ मङ्सिर २७ मंगलबार ०८:०१ बजे

जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ मा रहेको पोखरी गाउँमा सौर्य ऊर्जाबाट गाउँ झिलीमिली बनेको छ । स्थानीय मुनबहादुर रोकायाले विद्युत् सेवा नहुँदा यहाँका स्थानीयवासी सल्लाको दियालोको भरमा अन्धकारमा बस्न बाध्य हुनुपरेको उल्लेख गरे ।

सौर्य ऊर्जाले गाउँ नै झिलीमिली पारेपछि बिजुली बाल्ने धोको पूरा भएको रोकायाले बताए । उनले भने, ‘गाउँ उज्यालो मात्र भएको होइन, सारा पोखरीवासीको मन उज्यालिएको छ । जम्मा गाउँमा ६० घरधुरी रहेका छन् । गाउँ नजिकै अर्को गोठीबस्ती छ । वर्षायामको ६ महिना पोखरी गाउँका स्थानीय त्यही बस्छन् । गोठीमा पनि सौर्य ऊर्जाको बिजुली पुर्‍याइएको छ ।’ सबै गरेर एक सय २० घरमा बिजुली बालिएको रोकायाले बताए । ५० किलोवाट क्षमताको सौर्य ऊर्जाले प्रत्येक घरमा ६ बल्ब राखिएको छ ।

एक घरले दुई बल्बभन्दा बढी बालेका छैनन् । गाउँमा पोलपोलमा बिजुली बालिएको छ । जतिबेला पनि मोबाइल चार्ज गर्न पाइएको छ । टिभी र वाइफाइ चलाउनसमेत सजिलो भएको अर्का स्थानीयवासी तुलवीर रोकायाले बताए । उत्पादन भएको सबै बिजुली खपत नहुने भए पनि गाउँमा कुटानी, पिसानी र काठ चिरानी मेसिन राख्ने तयारी भइसकेको छ । जसका लागि वडापालिकाले बजेट छुट्याइसकेको छ ।

गाउँमै कुटानी– पिसानीको काम हुने भएपछि महिलाको कार्यबोझ घट्ने सो गाउँका स्थानीयवासी बताउँछन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको तीन करोड ३४ लाख र ३० लाख तिला गाउँपालिकाको साझेदारीमा सौर्य ऊर्जा निर्माण भएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए । रासस

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७