बाँदर धपाउँदै बित्छ दिन


२८ मंसिर २०७९, बुधबार
monkey

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पूर्वी भेगमा रहेको पाँचगाउँका बासिन्दाको दिन बाँदर धपाउँदै बित्ने गरेको छ । खाद्यान्न बाली जोगाउन उनीहरु दैनिक बाँदर धपाउनमै व्यस्त हुने गरेका छन् । गहुँ, तोरी, आलु, प्याज, फलफूललगायत ठूलो संख्यामा आउने बाँदरले नोक्सानी गर्नाका साथै बालबच्चा समेत असुरक्षित हुन थालेपछि पिस्कर, धुस्कुन, चोकटी, तौथली र टेकानपुरका बासिन्दा दिनहुँ बाँदर लखेट्ने काममा व्यस्त हुन थालेका हुन् ।

हिउँदे बाली, तरकारी तथा फलफूल नोक्सान गरेपछि बाँदर लखेट्ने अभियान नै चलाइएको पिस्करका पृथ्वीजङ्ग पाण्डेले बताए । वन्यजन्तु संरक्षण ऐनअनुसार बाँदर मार्न नपाइने भएकाले स्थानीयवासीको समूहले बाँदर लखेट्न समिति समेत गठन गरेकोे उनको भनाइ थियोे । धुस्कुनका चन्द्रबहादुर विकका अनुसार दुई वर्षदेखि बाँदरले बढी दुःख दिन थालेको हो । उनले केटाकेटीलाई जोगाउन समेत मुस्किल परेकाले बाँदर धपाउने अभियान चलाइएको बताए ।

स्वच्छ खानेपानीबाट वञ्चित

तीन गाउँका बासिन्दा स्वच्छ खानेपानी पिउनबाट वञ्चित भएका छन् । खानेपानीको मुहान बाढीले बगाएपछि जुगल गाउँपालिकाको पाकुका करिब दुई सय र पाङार्पुका ३६ घरपरिवार स्वच्छ पानी पिउनबाट वञ्चित भएका हुन् ।

वैकल्पिक मुहान नहुँदा यहाँका करिब डेढ सय परिवार दूषित पानी पिउन बाध्य छन् । पानीको समस्या समाधान गर्न न स्थानीय तहले चासो देखाएको छ नत खानेपानी डिभिजन कार्यालयले नै । पानीको मुहान सफा गर्न र ट्याङ्की निर्माणमा कसैले पनि तदारुकता नदेखाउँदा पाकु र पाङार्पुवासी प्रदूषित पानी पिउन बाध्य भएका हुन् । वैकल्पिक मुहान नहुँदा खेतमा गाईवस्तु र रासायनिक मल मिसिएको पानी उपभोग गर्दै आइएको स्थानीय चन्द्रकुमारी सिलवालले बताए ।

यसैगरी इन्द्रावती गाउँपालिका–११ विषदेउटारका माझी बस्तीमा खानेपानीको धारा भए पनि पानी आउँदैन । धारामा पानी नआउँदा यहाँका ५६ परिवार खोलाको पानी बोकेर उपभोग गर्न बाध्य छन् ।

खानेपानीको भरपर्दो व्यवस्था नहुँदा धारा भए पनि पानीका लागि खोलामै झर्नुपर्ने बाध्यता रहेको स्थानीय शान्ति माझीले बताइन् । आफूहरुले खोलाको छेउमै जरुवा बनाएर पानीको गर्जो टार्दै आएको जानकारी दिँदै उनले घरको आँगनमै भएको खानेपानीको धारा हेर्नलाई मात्र भएको उनले गुनासो गरिन् । गाउँपालिकाको करिब रु १० लाखको लागतमा निर्माण भएको धारामा आठ महिना बितिसक्दा पनि पानी नआएको सोही ठाउँ निवासी सरिता माझीले बताइन् ।

गाउँलेहरू पानीको दुःख भोगिरहन बाध्य हुनुपरेको अर्का स्थानीय रामजी माझीले बताए । मुहान बनाउन र पानीको सहज आपूर्ति गर्न स्थानीय तहले चासो दिएको छैन । प्रदूषित पानी प्रयोग गर्दा विभिन्न सङ्क्रामक रोग लागेर उपचार गराउन ल्याउने गरेको चौतारा अस्पतालका चिकित्सक एलिजा हमालको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७