नम्ल्याहा मोरक्कोबाट माली फर्किए


२८ मंसिर २०७९, बुधबार
Baby namlaha

काठमाडौं । विश्वका एक मात्र नम्ल्याहा (नौं जना बच्चा) मोरक्कोमा १९ महिना बिताएपछि मंगलबार आफ्नो घर माली फर्केका छन् । एउटै गर्भबाट ९ बच्चा जन्माएर गिनिज बुक अफ रेकर्डमा नाम दर्ता गराएकी २७ वर्षीया हलिमा सिसेलाई सुत्केरी हुनुअघि आवश्यक विशेष हेरचाहका लागि मालीबाट मोरक्को लगिएको थियो। सन् २०२१ को मे ४ तारिखमा उनले ५ छोरी र ४ छोरा जन्माएकी थिइन् ।

आमा र बच्चाको क्यासाब्लान्कामा विशेष हेरचाह गरिएको थियो । जन्मँदा ती बच्चा ५ सय ग्रामदेखि १ किलोग्रामसम्मका थिए । गर्भाधानको ३० सातामै अपरेसनमार्फत नौ बच्चालाई गर्भबाट निकालिएको थियो । जन्मपछि विभिन्न स्वास्थ्य समस्या आउनसक्ने भएकाले उनीहरूलाई ५ महिनासम्म अस्पतालमा विशेष हेरचाहका साथ राखिएको थियो । त्यसपछि उनीहरूलाई निरन्तर स्वास्थ्यक निगरानीसहित एक अपार्टमेन्टमा सारिएको थियो ।

ऐन वोरजा नाम गरेको एक क्लिनिकले उनीहरूलाई आवश्यक स्वास्थ्यसेवा उपलब्ध गराएको थियो । बच्चाको पहिलो जन्मदिनको अवसरमा २०२२ मे ४ मा पिता अब्डेलकाडेर अर्बिले हरेक बच्चाको फरकखाले व्यक्तित्व रहेको बताएका थिए । ‘उनीहरू सबैको फरक चरित्र छ । कोही शान्त छन्, कोही हल्ला गर्छन् भने कोही धेरै रुन्छन्, कोही सधैं काखमा बस्न चाहन्छन् । यसरी सबै फरक–फरक छन् र यसो हुनु सामान्य पनि हो,’ उनले भनेका थिए । बच्चाको जन्मपछि आफूहरू मालीमा चर्चित बनेको र अधिकांशले आफ्नै आँखाले बच्चा हेर्न चाहेको उनले बताएका थिए । बिबिसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७