दुर्लभ पंक्षी हुचिल लोप हुँदै


२०७९ मङ्सिर २८ बुधबार ०६:५५ बजे

उदयपुर । उदयपुरको पूर्वी क्षेत्रको बेलका तथा चौदण्डी गढीको पहाडी क्षेत्रको भीरपाखामा पाइने दुर्लभ पंक्षी हुचिल लोप हुँदै गएको छ । वासस्थानको समस्या तथा सिकार गर्ने गरेका कारण हुचिल हिजो आज यस क्षेत्रबाट लोप हुँदै गएको छ ।

बेलका नगरपालिकाको मैनामैनीको सुघाचरी भिर पाखा, बोपताङ डाँडाको भिरपाखा, चम्पाकोट पाखा तथा चौदण्डी गढीको सिद्धीपुर र बेलकाको कटुन्जेबबलाको पाखा पहरातिर केही वर्ष अघिसमम व्यापकरुपमा पाइने हुचिल हिजोआज यस क्षेत्रमा पाइन छोडेको चौदण्डी बबलाका रामबहादुर मगर बताउँछन् ।

‘केही वर्षअघिसम्म चौदण्डीको कटुन्जे बबलाको भिरपाखा तथा जङ्गल क्षेत्रमा हिउँद वर्षा दुवै याममा हुचिल जताजतै पाइन्थ्यो’, उनले भने । केही वर्षयता यसको सिकार हुन थालेको र केहीले यसको वासस्थान समेत नष्ट गरेको पाइएको मगर बताउँछन् । हुचिलको सिकार गर्न गोप्यरुपमा अन्यत्र जिल्लाबाट सिकारी आउने गरेको उनको भनाइ छ । स्थानीयसँग मिलेर हुचिल सिकार गर्ने गरेको पाइएको मगर बताउँछन् ।

बेलका नगरपालिका–५ को मैनामैनी क्षेत्रको बोपताङ डाँडा पाखा क्षेत्र, चम्पाकोट तथा सुघाचरी भीरपाखामा समेत विगतमा धेरै संख्यामा हुचिल पाइन्थ्यो । स्थानीय मानबहादुर राई केही समययता फाटफुट्ट मात्र देख्न सकिने बताउँछन् । ‘हिजोआज गाउँघरमा रातभरि नै हुचिल कराएको सुनिदैन’, उनले भने ।

हुचिल मार्न, पक्रन र पासो थाप्न यहाँ बाहिरबाट आउने गरेका स्थानीयवासी बताउँछन् । हुचिल जिउँदै अन्यत्र लगेर बिक्री गर्ने गरेको पाइएको छ । जिउँदो हुचिल २० हजार रुपैंयाँसम्ममा बिक्री हुने गरेको छ । बेलका नगरपालिकाका पूर्व नगर प्रमुख दुर्गाकुमार थापा आफूले बेलकाको मैनामैनीको सुगाचरी भिर बोपताङ डाँडा र भिरमा पाइने दुर्लभ प्रजातिका गिद्धको संरक्षण र हुचिल संरक्षणको अभियान नै चलाएको बताउँछन् । ‘संरक्षण अभियानलाई निरन्तरता दिनुपर्छ’, उनले भने । रासस

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७