निर्वाचनको अन्तिम परिणाम सार्वजनिक


२८ मंसिर २०७९, बुधबार
Dinesh Thapaliya 2 2 scaled
फाइल फोटो

काठमाडौं । निर्वाचन आयोगले यहि ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आज (बुधबार) पत्रकार सम्मेलन गरी प्रतिनिधिसभातर्फको चुनावको परिणाम घोषणा गरेका हुन् । प्रदेशसभाको मत परिणाम भने पुस २ गते सार्वजनिक गरिने छ ।

आयोगले मंसिर २१ गते दलहरुलाई तीन दिनको समय दिएर बन्दसूचीबाट समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नामावली मागेको थियो । दलहरुले बन्दसूचीमा रहेका समानुपातिक सांसदहरुको नाम सच्चाएर पठाएपछि आयोगले आज निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको हो ।

आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको परिणामको प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको बताएको छ । निर्वाचन आयोगले निर्वाचनको अन्तिम नतिजाको परिणाम राष्ट्रपतिसमक्ष बुझाएपछि नयाँ सरकार गठनको बाटो खुल्ने छ । निर्वाचनमा सात राजनीतिक दलले राष्ट्रिय मान्यता पाएका छन् । संसदमा १२ राजनीतिक दलको प्रतिनिधित्व हुनेछ ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल जनमत पार्टी राष्ट्रिय पार्टी बनेका छन् । यीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल जनमत पार्टी नयाँ राजनीतिक दलका रुपमा उदाएका हुन् ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ । कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी ८९ सिट जितेको छ । प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट जितेर कांग्रेस संसदको ठूलो दल बनेको छ । यस्तै, नेकपा एमाले संसदमा प्रतिनिधित्व गर्ने दोस्रो ठूलो दल बनेको छ । एमालेका प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ गरी कूल ७८ सांसद बनेका छन् ।

माओवादी केन्द्रका ३२ सांसदले संसदमा प्रतिनिधित्व गर्नेछन् । माओवादीबाट प्रत्यक्षमा १८ र समानुपातिकमा १६ गरी ३२ सांसद संसदमा सहभागी हुनेछन् । तीमध्ये महेन्द्र राय यादव नेपाल समाजवादी पार्टीका हुन् । उनले माओवादी केन्द्रको चिन्ह हँसिया हथौडा लिएर निर्वाचन जितेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ जना सांसदले संसदमा प्रतिनिधित्व गर्नेछन् । रास्वपबाट ७ सांसद प्रत्यक्ष र १३ सांसद समानुपातिकतर्फ चुनिएका छन् । राप्रपाबाट ७ जना प्रत्यक्ष र ७ जना समानुपातिकतर्फ निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टीका १२ जना, यस्तै, नेपाल जनमत पार्टीका ६ जनाले संसदमा सहभागी जनाउनेछन् । जसपाबाट ७ जना प्रत्यक्ष र ५ जना समानुपातिक तर्फबाट समेटिएका छन् । नेकपा एकीकृत समाजवादीका १० जना सांसदले प्रतिनिधित्व गर्नेछन् । नागरिक उन्मुक्ति पार्टीका ३ जना, स्वतन्त्र तर्फका ५ जना, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका १÷१ जनाले संसदमा प्रतिनिधित्व गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७