माछा पालनबाट मनग्य आम्दानी


२८ मंसिर २०७९, बुधबार
Fish scaled
फाइल फोटो

कैलाली । कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले माछा व्यवसाय अंगालेका छन् । नगरलाई समृद्ध बनाउने सपना साकार पार्न नै उनले उक्त व्यवसाय गरिरहेका हुन् । जनप्रतिनिधि सबैले आ–आफ्नो व्यवसाय गर्न जरुरी रहेको उनको बुझाइ रहेको छ । उनी नगरपालिकाकै वडा नं ९ सेहरीमा नौ बिघा जमिन भाँडामा लिएर माछा व्यवसाय सञ्चालन गरिरहेका छन् ।

‘डोटीस्थित निरौली विद्यालयको जग्गा हो । विसं २०७८ मा जग्गाको सम्झौता गरेर काम सुरु गरेका थियौँ’, उनले भने, ‘हामी दाजुभाइ मिलेर यो काम गरिरहेका छौँ । निर्वाचनका कारण केही ढिलाइ हुँदा माछा हाल्न ढिला भयो, अहिले आधा माछा निकालिसकेका छौँ, केही अझै निकाल्न बाँकी छ ।’

उनले आफूले माछापोखरी पनि फरक तरिकाले निर्माण गरेको बताए । ‘यसमा जेसिवी प्रयोग गरेको भए आठदेखि १० लाख कम खर्चमा पोखरी निर्माण गर्न सकिन्थ्यो’, उनले भने, ‘हामीले ट्र्याक्टर प्रयोग गरेर नयाँ प्रविधिबाट निर्माण गरेका छौँ । यसले पोखरी दिगो बन्न मदत गर्छ ।’ उनले यस वर्ष केही ढिलो हुँदा सबै पोखरीमा माछा राख्न नसकेको बताए ।

उनले राजनीतिलाई सेवाका रुपमा बुझी स्वयम् आत्मनिर्भर बन्ने लक्ष्यका साथ माछा व्यवसाय सुरु गरेको बताए । २०७८ सालमै सञ्चालनमा ल्याइएको बिपी एग्रिगेट एग्रो फर्ममार्फत उनले माछा व्यवसाय सुरु गरेका हुन् । नगर प्रमुख हुनु अगावैदेखि सञ्चालनमा ल्याइएको उक्त फर्ममा उनले विभिन्न जातका माछा उत्पादन गरी बिक्रिवितरण गर्ने योजना बनाएका छन् ।

‘यो सबै जमिनमा माछा पोखरी बनेका छन्, यहाँ प्रायःजसो सबै प्रकारका माछा उत्पादन हुनेछन्’ उनले भने, ‘सानो पोखरीमा हामीले पङगास जातको माछा राखेका छौँ, यो माछा चारो मात्रै खाएर हुर्किने गर्छ, यसलाई वर्षको दुई पटकसम्म उत्पादन गर्न सकिन्छ ।’ उनले फागुनदेखि नौ बिघामा निर्माण गरिएका सबै पोखरीमा पूरै क्षमतामा माछाका भुरा राख्ने बताए ।

उनले माछाका भुरा पनि आफ्नै ‘स्टक’ राख्ने र आवश्यकपरे बेचबिखन गर्ने समेत योजना रहेको सुनाए । उनले त्यसका लागि पाँच पोखरी निर्माण गरिएको बताए । उनले सामाजिक क्षेत्रमा लागे पनि रोजगारी आवश्यक भएकाले कृषि पेसा अगालेको बताए । ‘यो व्यवसाय पनि हो । सामाजिक क्षेत्रमा लागे पनि मान्छेलाई काम त चाहिन्छ । रोजगारको बाटो चाहिन्छ नै । तसर्थ कृषि पेसामा आवद्ध भएको हुँ’, उनले भने । उनले आफ्नो उक्त फर्मबाट स्थानीय १० जनाले रोजगार पाएको बताउँदै विस्तारै उक्त संख्या बढ्दै जाने बताए ।

उनले उक्त फर्ममा करिब पौने तीन करोड लगानी लागिसकेको बताए । ‘करिब पौने तीन करोड लगानी लागिसकेको छ, सबै बैंकबाट नै ऋण लिएर हो’ उनले भने, ‘अझै यसमा लगानी लाग्नेछ । बस्ने र स्टक घर बन्न बाँकी छ । बत्ती, सिसिटिभी क्यामेरा जडान गर्नुका साथै तारबार पनि गर्न बाँकी छ ।’ उनले उक्त माछा पोखरीलाई नै भविष्यमा पर्यटकीयस्वरुप दिने किसिमको योजना सुनाए ।

उनले कृषि पेसामा सरकारी तबरबाट आवश्यक मात्रामा सहजता हुन नसकेको बताए । ‘म आफै पनि स्थानीय सरकारको नेतृत्व गरिरहेको छु, कृषि पेसामा पनि आवद्ध भएकाले यसका कठिनाई महसुस गरेको छु’, उनले भने, ‘यसमा ठूलो लगानी गरेर काम गर्दा त यति समस्या छ भने सानो लगानी गर्नेलाई झन बढी समस्या छ । किसानले अहिले मलखाद पनि नपाएको समस्या छ । त्यसैले हामीले यस क्षेत्रको कृषिलाईमाथि उठाउनका लागि के गर्न सकिन्छ भनेर योजना बनाएका छौँ । त्यही अनुसार अगाडि बढ्छौँ ।’

बजारीकरणको समस्या

भारतबाट अवैध रुपमा भित्रिने माछाका कारण नेपालका माछा व्यवसायीलाई बजारीकरणको समस्या रहेको नगर प्रमुख भट्टले बताए । ‘अहिले भारतबाट फर्मालिन प्रयोग गरेर अवैध रुपमा नेपालमा माछा भित्रिरहेका छन् । यसले गर्दा यहाँका उपभोक्ताको स्वास्थ्यमा समस्या ल्याइरहेको छ । ‘अवैध रुपमा भारतबाट माछा भित्रिने गरेका कारण यहाँका माछा व्यवसायीले उचित मूल्य पाउन सकेका छैनन्’, उनले भने ।

उनले अवैध रुपमा भित्रिने वस्तुको रोकथामका लागि प्रमुख जिल्ला अधिकारीसँग छलफल भए पनि नतिजा फलदायी हुन नसकेको बताए । अवैध रुपमा भित्रिने माछाका कारण यस क्षेत्रका माछा व्यवसायी धरासायी हुने अवस्थामा रहेको उनको भनाइ रहेको छ । उनले सोही कारण स्थानीय किसानले लगानी नउठ्ने गरी माछा बेच्नुपर्ने बाध्यता रहेको पनि बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७