निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो मत परिणामको प्रतिवेदन

निर्वाचन सकिएको अवसरमा जलपान आयोजना गर्दै आयोग


२९ मंसिर २०७९, बिहीबार
Nirbachan 3 scaled

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निर्वाचन आयोगले यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ ।

Pro Ktm ECN Vice Pesident40

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गरे । प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपति समक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

Nirbachan 2

सो अवसरमा राष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका निम्ति निर्वाचन महत्वपूर्ण रहेको बताएकी छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा खुशी व्यक्त गर्दै उनले यसका निम्ति निर्वाचन आयोग, सुरक्षा निकाय, सरोकारवाला निकाय र आममतदाता सबैलाई धन्यवाद दिइन् ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले स्वच्छ, भयरहित वातावरणमा आमनिर्वाचन सम्पन्न भएको बताए । यस निर्वाचनबाट प्रतिनिधिसभामा दुई सय ७५ र प्रदेशसभामा पाँच सय ५० गरी आठ सय २५ जना निर्वाचित भएको उनले जानकारी गराए । प्रतिनिधिसभामा ३३ दशमलव १० प्रतिशत र प्रदेशसभामा ३६ दशमलव ३६ प्रतिशत महिला सहभागिता भएको उनको भनाइ छ ।

आयोगले आगामी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखसमक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने जनाएको छ । सो अवसरमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडीलगायत उच्च अधिकारी सहभागी थिए ।

निर्वाचन सकिएको अवसरमा जलपान आयोजना गर्दै आयोग
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा आगामी पुस ४ गते जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ । आयोगको प्राङ्गणमा अपराह्न १ः३० बजेका लागि जलपान कार्यक्रम आयोजना गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

जलपान कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्व प्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि लगायतलाई आमन्त्रण गरिएको उनको भनाइ छ । यस वर्ष तीन तहका निर्वाचन सम्पन्न भएका छन् । गत वैशाखमा स्थानीय तह तथा यही मङ्सिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७