सरकारको अनुहार हेरेर मेट्रो रेल आउँदैन, महानगर मिलेर काम थालौं : चिरिबाबु महर्जन


२ पुष २०७९, शनिबार
chiribabu

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रोको रेल सञ्चालनका लागि आवश्यक तयारी अगाडि बढाउनु पर्ने बताएका छन् । मोटरसाइकल ल्याएर उपत्यकामा ट्राफिक जाम बढाउनुको सट्टा मेट्रो रेल सञ्चालन अबको आवश्यकता रहेको उनले बताए ।

आज (शनिबार) ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसका अवसरमा मेयर महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताए । मेट्रो रेल धेरै महंगो छ भनेर पछि हट्नु नहुने उनले बताएका छन् । मेयर महर्जनले अन्तर्राष्ट्रिय अध्ययन अनुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य रहेको भन्दै यसमा ढिलाइ गर्न नहुने बताएका थिए । सरकारको अनुहार हेरेर कहिल्यै सम्भव नहुने भन्दै काठमाडौं र ललितपुर महानगरपालिका लगायत काठमाडौं उपत्यकाका १८ वटा पालिकाको राम्रो भूमिका यसमा हुनुपर्ने बताएका छन् ।

तर विशेष गरी मेट्रो रेल सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले प्रमुख भूमिका खेल्नुपर्ने उनको आग्रह थियो । महर्जनले भनेका छन्, ‘काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प छँदै छैन । मेट्रो चलाउनै पर्छ । आज निर्णय गर्न सक्यौँ भने अर्को १० देखि १५ वर्षसम्ममा त्यो सकिन्छ । मेट्रो ज्यादै महंगो छ रे भन्ने सुन्ने गरेको छु । सस्तो के त ? सस्तो पनि त हुनुपर्छ । अबको १५ वर्षपछि काठमाडौं उपत्यकाभित्रको जनसंख्या ६० लाख पुग्छ । यसको विकल्प के त ? यही मोटरसाइकल ल्याउने ? तसर्थ यो विकल्प किमार्थ हुन सक्दैन ।’

उनले थपे, ‘यसको निमित्त हामीले मेट्रो नल्याइकन सुखै छैन । महंगो भयो भनेर वास्तै नगर्ने ? यो हुँदैन । कुनै पनि योजना बनाएर भए पनि मेट्रो ल्याउनैपर्छ । अन्तर्राष्ट्रिय अध्ययन अनुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य छ । त्यसको लागि काठमाडौं र ललितपुर महानगरपालिका लगायत काठमाडौं उपत्यकाका १८ वटा पालिकाको राम्रो भूमिका खेल्नुपर्छ । त्यसमा काठमाडौं महानगरपालिका प्रमुख हो । यसमा अघि बढौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७