कर्णाली प्रदेशसभा निर्वाचन परिणाम : २२ दलको धरौटी जफत, ३७.५ प्रतिशत महिला निर्वाचित


२ पुष २०७९, शनिबार
karnali AKwQuEndT1

सुर्खेत । कर्णाली प्रदेश सभाको लागि गरिएको प्रदेश सभा निर्वाचन (०७९) को परिणाम प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेस गरिएको छ । प्रदेश सभाको हकमा प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने प्रावधान बमोजिम आयोगबाट परिणामसहितको प्रतिवेदन आज प्रदेश प्रमुख तिलक परियार समक्ष प्रस्तुत गरिएको हो ।

निर्वाचित प्रदेशसभा सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिने छ । आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार कर्णाली प्रदेश सभातर्फ ४० जना निर्वाचित भएका छन् । जसमा पुरुष २५ जना (६२ दशमलव ५ प्रतिशत) र महिला १५ जना (३७ दशमलव ५ प्रतिशत) निर्वाचित भएका हुन् ।

कर्णाली प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ २८ राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए । प्रतिवेदन अनुसार प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ पुरुष ११३ र महिला ३ गरी कूल ११६ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने समानुपातिक निर्वाचन प्रणालीमा कूल २०० जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।

प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि महिला ४ लाख ९७ हजार २८०, पुरुष ५ लाख १० हजार ४२० र अन्य ३ गरी कूल १० लाख ८ हजार ४०३ मतदाता कायम रहेको आयोगले जनाएको छ । कर्णालीमा १० लाखभन्दा बढी मतदाता संख्या थियो । तर निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचनमा ६ लाख १४ हजार ७१७ (६० दशमलव ९६ प्रतिशत) मत खसेको थियो ।

जसमध्ये ५ लाख ८९ हजार ४८४ (९५ दशमलव ९ प्रतिशत) मत सदर भएको थियो भने २५ हजार २३३ (४ दशमलव १०) प्रतिशत मत बदर भएको थियो । यस्तै प्रदेश सभाका लागि गरिएको समानुपातिक निर्वाचनमा ६ लाख १३ हजार ५०९ (६० दशमलव ८४ प्रतिशत) मतदान भएको थियो, जसमध्ये ५ लाख ७७ हजार ८२९ (९४ दशमलव १८ प्रतिशत) मत सदर भएको थियो भने ३५ हजार ६८० (५ दशमलव ८२ प्रतिशत) मत बदर भएका आयोगका सह–सचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
२२ दलको धरौटी जफत
प्रदेश सभा सदस्यको लागि निर्वाचनमा भाग लिएका २२ वटा राजनीतिक दलहरूको धरौटी जफत गरिएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था बमोजिम प्रदेश सभातर्फ बन्दसूची पेस गर्ने दलमध्ये कर्णाली प्रदेशमा २२ वटा राजनीतिक दलको धरौटी जफत गरिएको हो ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । सो व्यवस्थाअनुसार कर्णाली प्रदेशमा ५ (पाँच) वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ३७ वटा राष्ट्रिय संस्थाका ७ हजार ५५३ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकबाट निर्वाचन पर्यवेक्षण भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७