संरक्षणको पर्खाइमा घुमाउने घर


४ पुष २०७९, सोमबार
Home Parbat

पर्वत । पर्वतको आर्थरडाँडाखर्कमा रहेका परम्परागत घुमाउने घर संरक्षणको अभावमा खण्डहर बनेका छन् । गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँका अधिकांश परिवार सहरतिर बसाइँसराइ गर्दा गाउँका घर खाली भएका हुन् । गाउँमा पनि आजकल आधुनिक घर निर्माण गर्ने क्रम बढेकाले परम्परागत पुराना घरको संरक्षण हुन नसकेको हो ।

पर्या–पर्यटनका लागि आर्थरडाँडाखर्क सम्भावना बोकेको गन्तव्य हो । सदरमुकाम कुश्मा र पोखारदेखि सजिलै पुग्न सकिने भएकाले आन्तरिक पर्यटक गाउँले वातावरणमा रमाउन यहाँका पाहुना घरमा आउने गर्छन् । भत्केको भए पनि पुरानो शैलीका घुमाउने घरले पर्यटकको ध्यान तान्ने गरेको छ । ‘परम्परागत घुमाउने घर लोप हुनु भनेको जातीय, भौगोलिकताको पहिचान र मौलिकता गुमाउनु हो’, पर्वत उद्योग वाणिज्य सङ्घ, पर्वतका सचिव राजन गुरुङले भने । आर्थरको पर्यटनलाई बढवा दिन भन्दै नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा पर्वतले पनि केही दिन अघि खबर शिविर सञ्चालन गरेको थियो ।

‘घुमाउने घरले गाउँको संस्कृति, मौलिकता र समुदायको परम्परालाई जीवित राख्न महत्वपूर्ण भूमिका खेल्ने गर्छ’, जिल्ला शाखाका अध्यक्ष सन्तोष थापाले भने । कुश्मादेखि सार्वजनिक यातायातमा डेढघण्टाको यात्रा गरेपछि आर्थर पुगिन्छ । यहाँ आउने पर्यटकको बसाइँलाई ध्यानमा राख्दै प्रत्येकजसो घरमा पाहुना घर स्थापना गरिएका छन् । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पञ्चासेकोडाँडा पुग्न पनि आर्थर हुँदै जानुपर्छ ।

‘कुश्मादेखि नजिकै भएर पनि यस गाउँ टाढिए जस्तो देखिन्छ’, स्थानीयवासी रुपा थापा गुरुङले भने, ‘गाउँमा रहेको दुई सय वर्ष पुरानो बौद्ध गुम्बा, गुरुङ समुदायको कलासंस्कृति झल्कने ढुङ्गाका पुराना र घुमाउने घर समेटिने गरी गुरुङ सङ्ग्रहालय बनाइ गाउँकै प्रवद्र्धनमा लाग्नुपर्ने देखिन्छ ।’ ढुङ्गाले छाएको छानो र रातो माटोले बनेका पुरानो घर यस गाउँका विशेषता भएपनि ती घरमा मान्छे बस्न छाडेको वर्षौ भइसकेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७