वन व्यवस्थापनमा मुख्य चुनौती डढेलो

चिसोले बढायो वायु प्रदूषणको जोखिम


८ पुष २०७९, शुक्रबार
dadhelo
फाइल फोटो

मोरङ । मोरङको कूल क्षेत्रफल एक लाख ८५ हजार छ सय हेक्टर छ । यसभित्र एक सय ३४ सामुदायिक, चार साझेदारी, दुई कबुलियती, १२ धार्मिक तथा सरकारद्वारा व्यवस्थित गरी ४६ हजार आठ सय पाँच हेक्टर क्षेत्र वन रहेको छ । तर वन व्यवस्थापनका लागि भने डढेलो मुख्य चुनौतीको रूपमा रहेको छ ।

मोरङमा वन क्षेत्र सुदृढ हुँदा जैविक विविधतामा सुधार आएको भए पनि डढेलोले वन व्यवस्थापनमा बाधा पुर्‍याउने गरेको छ । डढेलोलाई वन विनासको मुख्य कारण मानिन्छ । दाउरा निकाल्न सजिलो हुने भनेर वनमा आगो लगाउने गरेको पाइएको छ । विराटनगर–३ स्थित डिभिजन वन कार्यालयका अनुसार मोरङमा बर्षेनी औसत एक सय ५० देखि चार सय हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ ।

वन व्यवस्थापन दिगो, छरितो र उत्कृष्ट भए पनि वन क्षेत्रमा लाग्ने डढेलोले बेलाबेलामा चिन्ता बढाउने गरेको छ । डढेलोले सङ्कटापन्न जीवजन्तुदेखि बहुमूल्य रूख बिरुवामा क्षति पुर्‍याउने गरेको सहायक वन अधिकृत एवं सूचना अधिकारी रामलखन ठाकुर बताउँछन् ।

‘कार्यालयले वनमा लाग्ने डढेलो नियन्त्रणका लागि सचेतना कार्यक्रमदेखि सञ्जाल गठनसम्मको काम गर्दै आएको छ’, उनले भने । उनले स्थानीय वन उपभोक्ता समूहका प्रतिनिधि, सुरक्षा निकाय, वन सुरक्षा निकाय र डिभिजन वन कार्यालयको कर्मचारी सम्मिलित वन डढेलो नियन्त्रण सञ्जाल गठन गरिएको बताए । सञ्जालले वन क्षेत्रमा लागेको डढेलो निभाउनेदेखि आगलागीबारे जनचेतना फैलाउनेसम्मको कार्य गर्दैआएको ठाकुरले बताए ।

कार्यालयले डढेलो नियन्त्रणका लागि वन क्षेत्रमा पतझर सोहरेर अग्नि रेखाको सरसफाइ, वन क्षेत्रमा नियन्त्रित आगो लगाउने कार्य गर्दै आएको छ । साथै वनमा आगलागी भइहाल्यो भने तत्कालै निभाउनका लागि वन क्षेत्र नजिक तीन वटा पानी ढुवानीका लागि ट्याङ्कर तयारी अवस्थामा राखिएको छ ।

डिभिजन वन कार्यालयका वन अधिकृत अनिरुद्धकुमार साहले सीमित स्रोतसाधनका बाबजुत मोरङमा डढेलो नियन्त्रणको सवालमा उल्लेखनीय प्रगति भएको दाबी गरे । उनले मोरङको वन क्षेत्रमा डढेलो नियन्त्रणका लागि आवश्यक प्राविधिक र जनशक्तिलाई तालिम र उपकरणसहित चौबिसै घण्टा परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको बताए ।

चिसोले बढायो वायु प्रदूषणको जोखिम

पुसको चिसो बढेसँगै विराटनगर नगर क्षेत्रभित्र वायु प्रदूषणको जोखिम बढेको छ । चिसो बढेपछि नगर क्षेत्रका अधिकांश खुल्ला ठाउँमा आगो बालेर ताप्ने क्रम बढेको छ । आगो बाल्न काठ दाउरा बाहेक गोबरको गुइँठा, कागज, प्लाष्टिक, रुवाको प्रयोग गर्ने पाइएको छ ।

काठ दाउरादेखि प्लाष्टिकसम्मको प्रयोग गरी आगो बाल्दा निस्कने धुँवाले नगर क्षेत्रको वायु प्रदूषण ह्वात्तै बढेको छ । विराटनगर महानगरपालिकाअन्तर्गतको वातावरण शाखाकी इन्जिनियर सुदिक्षा कार्कीले सर्वसाधारणले आगो बाल्न दाउराको मात्र प्रयोग नगरेर कागज, प्लाष्टिकजस्ता पदार्थको प्रयोग गर्दा त्यसबाट निस्किने धुँवाले वातावरणमा प्रदूषण फैलिएको बताए । उनले बढ्दो जनघनत्वका कारण नगर क्षेत्रमा सवारी साधनको चाप उल्लेख्यरूपमा बढेको उल्लेख गर्दै वातावरणलाई स्वच्छ राख्न विद्युतीय सवारी साधन प्रयोगमा जोड दिनुपर्ने बताए ।

कार्कीले विराटनगरको वायु प्रदूषण बढ्न नदिनका लागि वृक्षरोपणका कार्यक्रमदेखि सचेतना फैलाउनेसम्मको काम निरन्तर गरिँदै आएको बताए । ‘आगो बालेर ताप्नुभन्दा न्यानो कपडा लगाउनेतर्फ ध्यान दिनुपर्छ’, उनले भने । चिसोमा प्रदूषणबाट बच्न अनावश्यक घरबाट बाहिर ननिस्कन, धुलो धुँवा उड्ने खालको निर्माण व्यवसाय सञ्चालन नगर्न, खुल्लामा आगो नताप्न, फोहर वस्तु नजलाउने समेत कार्कीले सुझाव दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७