सत्ता गठबन्धनको बैठकअघि कांग्रेसको छुट्टै छलफल


१० पुष २०७९, आईतवार
Congress 2 2 scaled
फाइल फोटो

काठमाडौं । नयाँ सरकार गठनका लागि आज (आइतबार) सत्ता गठबन्धनको बैठक बस्दैछ । आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतबार अपराह्न ५ बजे सकिँदै गर्दा दलहरूले अझै नयाँ सरकार गठन र प्रधानमन्त्रीमा दाबी पेश गर्न सकेका छैनन् । बैठकले नयाँ सरकारको नेतृत्व गठबन्धनबाट कसले गर्ने भन्ने बारेमा टुंगो लगाउने छ ।

वर्तमान सत्ता गठबन्धनले नै सरकार बनाउने कसरत गरे पनि प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दाबीले सहमति हुन सकेको छैन । आलोपालो प्रधानमन्त्री हुँदा पहिलो प्रधानमन्त्री आफु हुनुपर्ने दुवै नेताको अडान रहेको छ । अन्तिम एक वर्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउने उनीहरुको भनाइ छ ।

शनिबार बसेको गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको थियो । गठबन्धनमा सहमति जुट्न नसकेपछि दलहरु गठबन्धन बाहिरका दलहरुसँग मिलेर सरकार गठन गर्ने कसरतमा जुटेका छन् । तर, प्रचण्ड र देउवा दुबैले पहिलो प्रधानमन्त्री आफू हुनुपर्ने अडान लिएपछि सत्तारुढ गठबन्धन नै विघटन हुने हो कि भन्ने आशंका समेत थपिएको छ ।

गठबन्धनको बैठकअघि कांग्रेस शीर्ष नेताहरुको छलफल
यसैबीच नयाँ सरकार गठनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्नु अघि नेपाली कांग्रेसका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । आज बिहान १० बजे बोलाइएको सत्ता गठबन्धनको बैठकमा पार्टीको एकीकृत धारणासहित प्रस्तुत हुन कांग्रेस शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा सुरु हुने बैठकमा सरकारको नेतृत्व र शक्ति बाँडफाँटका विषयमा कांग्रेसको अडानबारे छलफल हुने एक नेताले जानकारी दिए । सरकारको पहिलो चरणको नेतृत्व कांग्रेसले लिने कि माओवादीले भन्ने विषयमा सत्ता गठबन्धनमा एकमत हुन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७