कांग्रेसले अडान कायमै राखे गठबन्धन रहँदैन : माओवादी


१० पुष २०७९, आईतवार
Dev Gurung
फाइल फोटो

काठमाडौं । नयाँ बन्ने सरकारमा पहिलो प्रधानमन्त्री को बन्ने भन्ने विषय नटुंगिँदा सत्ता गठबन्धन धरापमा परेको छ । गठबन्धनका प्रमुख दुई दल कांग्रेस र माओवादी दुवैले पहिले प्रधानमन्त्री आफूले पाउनुपर्ने अडान राखेका छन् ।
यस्तोमा कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीको अडान नछाडे गठबन्धन कायम नरहने माओवादीले बताएको छ । माओवादीका महासचिव देव गुरुङले कांग्रेस आफ्नो अडानबाट पछि नहटे गठबन्धन नरहने प्रस्ट पारेका छन् ।

‘हिजो बालुवाटार बैठकमा कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिको अडान छाडेको थिएन । आइतबार थप छलफल गरेर टुंगोमा पुग्ने भन्ने थियो । कांग्रेसले आज अनौपचारिक रूपमा त्यही अडान दोहोर्‍याएर माओवादीले प्रस्तावमा समर्थन गर्नुपर्‍यो भन्ने प्रस्ताव विमलेन्द्र निधिले सुनाए,’ महासचिव गुरुङले भने, ‘गठबन्धनको अरू घटकलाई नचाहेपछि गठबन्धन रहिरहने भन्ने अवस्था रहँदैन । पदाधिकारी बैठकमा त्यो कुरा भएको हो । निर्णायक वार्ता प्रचण्डले गर्नुहुन्छ । गठबन्धन रहने–नरहने टुंगो त्यहीँबाट लाग्छ ।’

अहिले बालुवाटारमा गठबन्धनका मुख्य दलका शीर्ष नेताहरू बैठकमा छन् । सरकार गठनका लागि राष्ट्रपतिले दिएको एक हप्ताको समय आज साँझ ५ बजे सकिँदै छ । अब बन्ने सरकारको नेतृत्व आफैँले गर्नुपर्ने देउवा र प्रचण्डको अडानले सत्तागठबन्धन संकटमा परेको छ । यसअघि शनिबार पनि निर्णायक भनिएको गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७