बालुवाटारको गठबन्धन बैठकबाट बाहिरिएका प्रचण्ड लागे बालकोटतिर


१० पुष २०७९, आईतवार
kp oli prachanda

काठमाडौँ । गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोट जान लागेको बताइएको छ । स्रोतका अनुसार प्रचण्ड एमाले अध्यक्ष केपी ओलीनिवास बालकोट जान लागेका हुन् ।

प्रचण्डसँग छलफल गर्ने तयारी रहेको पुष्टि गर्दै ओलीको सचिवालयले प्रचण्ड ओलीनिवास भने आइपुगिनसकेको बताएको छ । आइतवार बिहान बालुवारमा प्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवासँगको वार्तामा सहमति नजुटेपछि प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटतिर लागेका हुन् ।

देउवाले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नमानेपछि दुई दलको वार्ता निष्कर्षविहीन भएको थियो । त्यसपछि प्रचण्ड दोस्रो तहका नेताहरुलाई बालुवाटारमै छाडेर बालकोटका लागि निस्किएका हुन् । प्रचण्डले आफू आउँदै गरेको खबर सचिवालयमा पठाइसकेको एमाले स्रोतले बताएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली पनि अन्य कार्यक्रम स्थगित गरेर प्रचण्डसँग संवादका लागि बालकोटमै बसिरहेका छन् । ओलीले यसअघि शीतल निवास र संसद भवनमा भएको सार्वजनिक भेटकै क्रममा प्रचण्डलाई पहिलो कार्यकाल नै प्रधानमन्त्री बन्न प्रस्ताव गरिसकेका छन् । तर प्रचण्डले ओलीको अझै विश्वास गर्ने आधार नभएकाले पहिलो जोडबल गठबन्धनमै गर्ने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७