इमरान खानमाथिको हमला सुनियोजित षडयन्त्र : छानबिन समिति

इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहारको घटनाको छानबिन गरिरहेको संयुक्त अनुसन्धान समिति (जेआईटी) ले खानविरुद्ध ‘सुनियोजित षड्यन्त्र’ भएको बताएको छ । गत महिना इस्लामावादको लागि लङ मार्चमा रहेका इमरान खानमाथि आक्रमण भएको थियो ।
घटनामा खानको दाहिने खुट्टामा गोली लागेको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार, जेआईटीको रिपोर्टलाई उद्धृत गर्दै पाकिस्तानको पञ्जाब प्रान्तका आन्तरिक मन्त्री ओमर शरीफले खानमाथिको हमला ‘सुनियोजित षडयन्त्र’ भएको बताए ।
उनले भने, ‘जेआईटीले आक्रमणमा एकभन्दा बढी आक्रमणकारी संलग्न रहेको पत्ता लगाएको छ । प्रहरीले मुख्य आरोपी मोहम्मद नावेदलाई पक्राउ गरेको छ । उनी जनवरी ३ सम्म हिरासतमा रहने छन् ।’
शरीफले नावेद ‘प्रशिक्षित हत्यारा रहेको र उनी आफ्नो सहयोगीसहित घटनास्थलमा रहेको’ बताएका छन् । नावेद पोलिग्राफ टेस्टमा पनि फेल भएको उनले बताए । नावेदले पुलिसलाई लङ मार्चमा अजानको समयमा संगीत बजाइएको भन्दै इमरान खानलाई मार्न चाहेको बताएका थिए ।