ओली सत्ता गठबन्धनको संयोजक चयन

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सकियो, शीतलनिवास जाँदै


१४ पुष २०७९, बिहीबार
gathabandhan

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको आज (बिहीबार) को बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।

मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको भागबन्डालगायत विषयमा छलफल गर्न बैठक बसेको थियो । सत्ता साझेदार दलहरुको गठबन्धनले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई संयोजक चयन गरेको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो । गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संयोजकमा ओली रहने निर्णय भएको जानकारी दिए । ‘सत्ता साझेदार दलको संयोजकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुने निर्णय भएको छ ।’

बैठकपछि प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राष्ट्रपतिको कार्यालय शीतल निवास जाँदैछन् । आज शीतलनिवासमा नवनियुक्त महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलको शपथ ग्रहण कार्यक्रम रहेकाले त्यसमा सहभागी हुन उनीहरू जान लागेका हुन् ।

बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी थिए । वर्तमान सत्ता गठबन्धनमा सात दल आबद्ध छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७