चीनमा कोरोना लहर, अन्तर्राष्ट्रिय समुदाय चिन्तित


१५ पुष २०७९, शुक्रबार
china corona covid

बेइजिङ । अमेरिका, जापानलगायतका विभिन्न देशले चीनबाट त्यहाँ जाने यात्रुले कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था गरेका छन् । चीनमा देखिएको कोरोना भाइरसको लहर विश्वव्यापी फैलिन सक्ने चिन्ता बढेको छ । चीनले भाइरसको नयाँ भेरियन्टबारे यथेष्ट जानकारी नगराउँँदा विश्व समुदाय सशंकित छ ।

चीनमा भाइरसको नयाँ भेरियन्ट फैलिएको भन्नेबारेमा त्यहाँको सरकारले अहिलेसम्म कुनै रिपोर्ट सार्वजनिक गरेको छैन । तर चीन सरकारको यसअघिकोे ‘ट्रयाक रेकर्ड’ राम्रो नभएका कारण उसले नयाँ भेरियन्टबारे तथ्यांक साझेदारी गर्नेमा विश्व संशकित बनेको छ । चीनमा फैलिएको भाइरसको यथार्थ अवस्थाबारे जानकारी नहुँदा विश्वभर यसको प्रकोप ह्वात्तै बढ्न सक्ने आंकलन गरिएको छ ।

अमेरिकी सरकारले चीनबाट जाने यात्रुले नेगेटिभ कोभिड–१९ रिपोर्ट पेस गर्नुपर्ने घोषणा गरेको छ । चीनमा देखिएको भाइरस संक्रमणको नयाँ लहर र भाइरसको नयाँ रूपको ‘जेनेटिक सिक्वेन्स’ लगायतका विषयमा यथेष्ट जानकारी नभएका कारण अमेरिकाले यस्तो निर्णय गरेको हो ।

ताइवानको इपिडेमिक कमान्ड सेन्टरका प्रमुख वाङ पी सेङले चीनको वर्तमान अवस्थाबारे यथेष्ट जानकारी नहुँदा ताइवानी सरकार चिन्तित बनेको बताए । ताइवानी सरकारले आउँदो जनवरी १ देखि चीनबाट ताइवान भित्रिने हरेकको भाइरस परीक्षण अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ । चिनियाँ नयाँ वर्षका अवसरमा त्यहाँ रहेका ३० हजार ताइवानी देश फर्कने अनुमान गरिएको छ ।

‘चीनमा हाल भैरहेको भाइरस संक्रमणको अवस्थाबारे पारदर्शिताको अभाव छ। हामीसँग सीमित जानकारी उपलब्ध छ, जुन ठ्याक्कै सही हो भन्ने अवस्था छैन,’ कमान्ड सेन्टरका प्रमुख वाङले भने । जापानका प्रधानमन्त्री फुमिओ किसिडाले पनि चीनमा फैलिएको कोरोना भाइरसबारे यथेष्ट जानकारी उपलब्ध नरहेको बताएका छन् । जापानले यो साताको सुरुदेखि आफ्नो देशमा चीनबाट जाने यात्रुले भाइरस परीक्षण रिपोर्ट देखाउनुपर्ने नयाँ व्यवस्था गरेको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अथानोम घेब्रेससले जोखिमको समीक्षा गर्न हाल चीनमा देखिएको महामारीको सघनता र अस्तपालका सघन उपचार कक्षमा भर्ना हुने दरबारे यथेष्ट जानकारी हुनुपर्ने बताएका छन् । भारत, दक्षिण कोरिया, ताइवान र इटालीले चीनबाट जाने यात्रुले अनिवार्य भाइरस परीक्षण गर्नुपर्ने घोषणा गरिसकेका छन् भने जर्मनीले पनि स्थितिको समीक्षा गरिरहेको बताएको छ ।

‘चीनमा फैलिएको नयाँ लहरमा खतरनाक भेरियन्टको प्रादुर्भाव भएको भन्ने विषय अझै प्रस्ट नभएकाले यात्रा प्रतिबन्ध लागु गर्नेबारे हामीले निर्णय गरिसकेका छैनौं,’ जर्मनीका स्वास्थ्य मन्त्रालयका प्रवक्ता सेवास्टन गुल्डेले भने । चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले चीनले विश्व स्वास्थ्य संगठनसँग सधैं सूचनाहरूको साझेदारी गरेको बताएकी छन् । ‘हामी अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न तयार छौं,’ प्रवक्ता माओे गत साता भनेकी थिइन् ।

चीनले कोरोना महामारी नियन्त्रणमा तीन वर्षदेखि लागु गर्दै आएको सख्त प्रावधानलाई केही साताअघि खुकुलो पारेको थियो । शून्य कोभिड नीतिको अकस्मात् परित्याग गरेपछि चीनमा भाइरस संक्रमण र फैलावटले तीव्रता पाएको मानिएको छ । अमेरिकाको वासिङ्टन डिसीको हड्सन इन्स्टिच्युटमा रहेको चाइना सेन्टरका निर्देशक माइल्स युका अनुसार चीनले भाइरसविरुद्धको सख्त प्रावधानलाई अकस्मात् परित्याग गरेका कारण विश्वव्यापी चिन्ता र आक्रोश बढेको हो ।

‘यति धेरै समयसम्म जिरो कोभिड नीति अख्तियार गरेको चीनले नियन्त्रणलाई अकस्मात खुकुलो पार्दा पिँँजडामा बसेका चिनियाँले विश्वलाई थप संक्रमणको जोखिममा धकेलेका छन्,’ निर्देशक युले भने । कोरोना महामारी फैलिँदा चीनमा रुखाखोकीको औषधि अभाव हुन थालेको छ । चीनमा ज्वरो नाप्ने क्लिनिकहरूमा लामो लाइन देखिएको छ । अस्पतालका इमर्जेन्सी कक्षमा भर्ना हुन गएका बिरामी पनि भर्ना नपाएर घर फर्कनुपर्ने स्थिति सिर्जना भएको छ । शवदाह गृहमा पनि चाप बढेको छ ।

चीनका सरकारी सञ्चारमाध्यमले यो विषयमा विस्तृत समाचार प्रकाशन तथा प्रसारण गरेका छैनन्। पश्चिमा सञ्चारमाध्यमले यो विषयलाई बढाइचाढाइ प्रसारण गरेका चीनको आरोप छ । ‘चीनलाई पूर्वाग्रही दृष्टिकोणले हेर्ने र लाञ्छित गर्ने राजनीतिक उद्देश्यले यस्ता अफवाह फैलाइने गरेको छ,’ चीनको परराष्ट्र मन्त्रालयका अर्का प्रवक्ता वाङ वेनविनले बुधबार भनेका थिए। चीनले कोरोना महामारीसम्बन्धी सूचना नियन्त्रण गरेको आरोप छ ।

समाचार एजेन्सी एपीले गरेको एक अनुसन्धानले कोभिड–१९ उत्पत्तिका विषयमा भएका आन्तरिक अनुसन्धानका नतिजालाई चीनले सार्वजनिक नगरेको देखाएको थियो । यसैगरी विश्व स्वास्थ्य संगठनको एक विज्ञ समूहले पनि आफ्नो अध्ययन प्रतिवेदनमा चीनले महामारी उत्पत्तिसम्बन्धी तथ्यांकका महत्वपूर्ण विषयलाई सार्वजनिक नगरेको पाइएको जनाएको छ । संगठनले भाइरसको उत्पत्ति विषयमा अझै गहिरो अध्ययन हुनुपर्ने बताउँदै आएको छ । (एपी)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७