चीनको विदेशमन्त्रीमा छिन ग्याङ नियुक्त


१५ पुष २०७९, शुक्रबार
qin gang 20221230180114

काठमाडौँ । चीनको नयाँ विदेशमन्त्री (परराष्ट्रमन्त्री) मा छिन ग्याङ नियुक्त भएका छन् । चिनियाँ सरकारी रेडियोलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले राष्ट्रपति सी चिनफिङका विश्वास पात्र छिनलाई विदेशमन्त्री नियुक्त गरिएको जनाएको छ ।

अमेरिकाका लागि चिनियाँ राजदूत रहेका ५६ वर्षीय छिनले वर्तमान परराष्ट्रमन्त्री वाङ यीको ठाउँ लिने भएका हुन् । ६९ वर्षीय वाङलाई गत अक्टोबरमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को महाधिवेशनमा पोलिटब्युरोमा बढुवा गरिएको थियो । उनलाई सीपीसीले विदेश नीतिसम्बन्धी ठूलो भूमिका दिने तयारी गरिएको बुझिएको छ ।

चिनियाँ परराष्ट्र मन्त्रालयमा एक कुशल कूटनीतिज्ञका रूपमा परिचित छिनले विदेश मन्त्रालयको प्रवक्ताको समेत जिम्मेवारी सम्हालिसकेका छन् । त्यस्तै उनले बेलायतस्थित चिनियाँ दूतावासमा समेत काम गरिसकेका छन् ।

सन् २०१४ देखि २०१८ सम्म उनी राष्ट्रपति सीको ‘चिफ प्रोटोकल अफिसर’का रूपमा जिम्मेवारी सम्हालेका थिए । परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि छिन ११ महिनापछि अमेरिकाका लागि चिनियाँ राजदूतको भूमिकाबाट फर्कने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७