नेपाल नम्बर एक शुक्र राईलाई कोर्स रेकर्डसहित सूर्य नेपाल इस्टर्न ओपनको उपाधि


१५ पुष २०७९, शुक्रबार
gulf news 1XtNvS03EU

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक शुक्रबहादुर राई १७ अन्डर १ सय ९३ को कोर्स रेकर्डसहित उपाधि जित्न सफल भएका छन् । उनले बलभद्र राईले सन् २०२० मा बनाएको ९ अन्डर २ सय १ को रेकर्ड तोडेका छन् । नयाँ रेकर्ड बनाउने क्रममा उनले लगातार दोस्रो दिन बोगीरहित खेले ।

पार ७० को धरान गल्फ क्लबको कोर्समा अन्तिम दिन ७–अन्डर ६३ को उत्कृष्ट स्कोर कार्ड बनाउँदै १७–अन्डर १ सय ९३ को नतिजामा धरानकै निरज तामाङलाई आठ स्ट्रोकले हराउँदै उपाधि माथि कब्जा जमाए । उनले नगद १ लाख ४० हजार प्राप्त गरे । तेस्रो दिन ३–अन्डर ६७ मा खेल सकाउँदै समग्रमा ९–अन्डर २ सय १ सहित निरजले दोस्रो स्थान प्राप्त गरे । उनले नब्बे हजार प्राप्त गरेका छन् ।

२–अन्डर ६८ मा अन्तिम दिनको खेल सकाएका भुवन नगरकोटीले समग्रमा ५–अन्डर २ सय ५ सहित तेस्रो स्थानमा चित बुझाए । उनले ६७ हजार नगद पुरस्कार प्राप्त गरे ।

इभन–पार ७० को स्कोरमा समग्रमा ४–अन्डर २ सय ६ स्कोर सहित सञ्जय लामा चौँथो भए । सञ्जयले ५५ हजार हात पारे । १–अन्डरमा खेल सकाउँदै कुल १–ओभर २ सय ११ सहित रामे मगरले पाँचौ हुँदै ४७ हजार प्राप्त गरे । समग्रमा २–ओभर २ सय १२ को नतिजामा धनबहादुर थापा र जयराम श्रेष्ठले संयुक्तरुपमा छैँटौ स्थानमा खेल सकाए । उनीहरूले ३८ हजार ७ सय ५० नगद पुरस्कार प्राप्त गरे । आठौँ भएका दिनेश प्रजापतिले अन्तिम दिन इभन–पार ७० खेल्दै समग्रमा ३–ओभर २ सय १३ मा खेल सकाए र ३४ हजार हात पारे ।

स्थानीय गल्फर बलभद्र राई कुल ५–ओभर २ सय १५ सहित नवौँ स्थानमा रहे । उनले ३२ हजार प्राप्त गरे । यसैगरी ७–ओभर २ सय १७ सहित सूर्यप्रसाद शर्मा दशौँ भए । उनले अन्तिम दिन ४–ओभर ७४ मा खेल सकाए ।

एमेच्योरतर्फ २–ओभर ७२ मा अन्तिम दिनको खेल सकाएका राजकुमार राई समग्रमा इभन–पार २ सय १० स्कोर सहित उपाधि जित्न सफल भए । उनले युवराज भुजेललाई ३ स्ट्रोकले हराए । युवराजले अन्तिम दिन १–अन्डर ६९ सहित ३–ओभर २ सय १३ मा खेल पूरा गरे । कुल १०–ओभर २ सय २० अंकसहित सुन्दर राई तेस्रो भए ।

उत्कृष्ट फर्ममा रहेका शुक्रसँग अन्तिम १८ होलको खेल सुरू गर्दा चार स्ट्रोकको अग्रता थियो । अन्तिम दिन दबाब बिना खेलेका उनले फ्रन्ट नाइन ३–अन्डर ३३ मा र ब्याक नाइन ४–अन्डर ३० मा सकाए । उनले तेस्रो, सातौँ र नवौँ होलमा बर्डी प्रहार गरे । उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै ब्याक नाइनमा चार सट बचाए । १०औँ, १५औँ, १६औँ र १८औँ होलमा बर्डीको सफलता प्राप्त गरे ।

निरजले पहिलो होलमा बोगी खेपे पनि तेस्रो, पाँचौ, छैँटौ र नवौँ होलमा एक एक सट बचाउँदै फ्रन्ट नाइन ३–अन्डर ३३ मा पूरा गरे । यसपछि १५औँ र १८औँ होलमा बोगीको सामना गरे भने ११औँ र १५औँ होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन इभन–पार ३४ मा पूरा गरे ।

भुवनले फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाउने क्रममा पहिलो होलमा बोगी खेपे पनि पाँचौ होलमा इगल र छैँटौ होलमा बर्डीको सफलता प्राप्त गरे । यसपछि १०औँ र १२औँ होलमा बोगी प्रहार गरे भने १५औँ र १६औँ होलमा एक–एक सट बचाएर ब्याक नाइन इभन–पार ३४ मा सकाए ।
विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्राइभेट लिमिटेडका ब्रान्ड म्यानेजर विदूरराज अधिकारी, रिजनल म्यानेजर दामोदर शर्मा, धरान गल्फ संघका सचिव भरत तामाङ र कार्यकारी सदस्य जगमोहन राईले पुरस्कार वितरण गरे ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सूर्य नेपाल प्राइभेट लिमिटेडको प्रायोजनमा जारी ५४ होलको प्रतियोगितामा २९ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले सहभागिता रहेको थियो । प्रतियोगितामा कुल आठ लाख पुरस्कार राशी रहेको थियो । जहाँ उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताअन्तर्गत शुक्रवार प्रो–एम खेल हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७