विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या अस्पष्ट


१६ पुष २०७९, शनिबार
korona 1

काठमाडौं । विश्वव्यापी कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको वास्तविक संख्या अस्पष्ट रहेको छ । विभिन्न देशले भिन्नभिन्न रुपमा मापन गर्ने तथा तथ्याङ्क राख्ने कारण सही मापन गर्न कठिन भएको हो ।

विज्ञहरूले आधिकारिक रूपमा रिपोर्ट गरिएकोभन्दा धेरैले ज्यान गुमाएको बताउँदै आएका छन् । कोरोनाको पहिलो सङ्क्रमित फेला परेको चीनमा १० लाखभन्दा धेरैको ज्यान गएको अनुमान छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक कोरोना भाइरसको पहिचान भएयता अहिलेसम्म ६६ लाख ५० हजारभन्दा धेरैको ज्यान गएको छ ।

डब्ल्यूएचओका अनुसन्धाताले यसै महिनाको सुरुमा नेचर जर्नलमा सन् २०२० र २०२१ मा कोभिडबाट एक करोड ४८ लाख ३० हजारभन्दा धेरै मानिसको ज्यान गएको उल्लेख गरेका थिए । डब्ल्यूएचओको तथ्याङ्कअनुसार सन् २०२०–२१ मा भारतमा कोभिडका कारण सबैभन्दा बढी ४७ लाख ४० हजार मानिसको ज्यान गएको थियो ।

‘युनिभर्सिटी अफ जेनेभा’ को इन्स्टिच्युट अफ ग्लोबल हेल्थका निर्देशक एन्टोनी फ्लाहाल्टले कोभिडका कारण ज्यान गुमाउने यकिन संख्या पुष्टि गर्नु निकै कठिन अभ्यास रहेको बताएको समाचार संस्था एएफपीले जनाएको छ ।
यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिनियाँ अधिकारीहरुलाई कोरोना महामारीको बारेमा वास्तविक जारीकारी दिन आग्रह गरेको छ ।

डब्लूएचओले चीनबाटै यसअघि सन् २०१९ मा सुरु भएको कोरोना महामारीका बेला पनि जानकारी दिन आनाकानी गरेको भन्दै यसबारे पर्याप्त जानकारी दिन आग्रह गरेको हो । डब्लूएचओले अस्पताल भर्ना, सघन उपचारको अवस्था र मृत्यु भएकाहरुको यकिन विवरण उपलब्ध गराउन पनि चीनसँग आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यसअघि जारी गरेका विभिन्न प्रतिबन्धहरु खुकुलो पारेसँगै चीनमा कोरोना महामारी संक्रमणको दर ह्वात्तै बढेको भन्दै डब्लूएचओले चिन्ता समेत व्यक्त गरेको छ ।

विभिन्न मुलुकले चीनबाट आउने मानिसहरुमाथि चेकजाँच गर्न थालेसँगै कोरोना महामारी फेरि आउनेमा आशंका फैलिएको डब्लूएचओले जनाएको छ । जसका कारण चीनलाई बेलैमा सहि सूचना प्रवाह गर्न डब्लूएचओले अपील समेत गरेको छ । डब्लूएचओले खोपको सहजताका बारेमा नियमित सूचना आदान प्रदान भए महामारी नियन्त्रण सहज हुने अपेक्षा रहेको समेत जनाएको छ ।

अमेरिका, फ्रान्स, स्पेन, दक्षिण कोरिया, भारत, इटाली, जापान र ताइवानलगायतका मुलुकले चीनबाट आउने यात्रुका लागि कोराना परीक्षणलाई अनिवार्य गरिसकेका छन् । चीनले दैनिक ५ हजार भन्दा बढीमा कोरोना संक्रमण भएको आंकडा प्रस्तुत गरे पनि त्यो संख्या वास्तविक नभएको डब्लूएचओले दावी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७