कांग्रेस महामन्त्रीद्वयको वक्तव्य : गृहकार्य र सावधानी नपुर्‍याउँदा सत्ताको राजनीतिमा पछि पर्‍यौं


१६ पुष २०७९, शनिबार
GAGAN BISHWA

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका कमजोरीलाई ढाकछोप नगरी खुला र पारदर्शी छलफल गर्नुपर्ने बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा शनिबार शुमकामना सन्देश जारी गर्दै उनीहरुले मंसिर ४ मा सम्पन्न निर्वाचनपछि मुलुकमा भिन्न राजनीतिक परिस्थिति निर्माण भएको बताएका हुन् ।

प्रतिनिधिसभा निर्वाचनको परिणामबाट सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेस प्रतिपक्ष बन्न पुग्दा पार्टीभित्र गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाएको र त्यो अस्वभाविक नभएको उनीहरुले बताएका छन् । यस बेला आफूहरूमाझ दुईवटा दायित्व रहेको उनीहरुले बताएका छन् ।

उनीहरुले भनेका छन्, ‘पहिलो, आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको इमानदार समीक्षा गर्ने । दोस्रो, यसबीचमा हाम्रो असावधानी, कमजोरी र गल्ती जो भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफलमार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने ।’

नेपाली कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्ने उनीहरुको दाबी छ । यस्तै, गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्‍याउन नसक्दा सत्ताको राजनीतिमा यो पटक पछि परेको उनीहरुले बताएका छन् । अब सरकारलाई जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षको रुपमा सशक्त भूमिका निर्वाह गर्ने पनि उनीहरुले बताएका छन् ।

‘हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौं कि निर्वाचनको बेला एउटा गठबन्धन र एउटा बाचाबन्धन गरेर जाने, तर निर्वाचनपछि अर्कै बाटो हिंड्ने बेइमानी कम्तिमा हामीबाट भएन,’ उनीहरुले भनेका छन्, ‘नेपाली कांग्रेसले सरकारलाई गुण र दोषका आधारमा मूल्यांकन गर्नेछ, जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षको रुपमा सशक्त भूमिका निर्वाह गर्नेछ । राष्ट्रिय राजनीति र जनचासोका विषयमा नेतृत्वदायी अग्रसरता लिनेछ ।’

1 31122022073704 1000x0 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७