नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक हो : उपराष्ट्रपति पुन


१७ पुष २०७९, आईतवार
Nanda bahadur pun scaled
फाइल फोटो

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताएका छन् ।
अङ्ग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा ठमेल पर्यटन विकास परिषद्ले शनिबार राति यहाँ आयोजना गरेको ‘ठमेल सडक महोत्सव’ को उद्घाटन गर्दै उनले संस्कृति र प्रकृतिको धनी नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताएका हुन् ।

बहुभाषी, बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक, रीतिरिवाज भएको नेपालले संस्कृति र प्रकृतिबाट पर्यटकलाई आकर्षित गरिरहेको उनको भनाइ छ । उपराष्ट्रपति पुनले कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा एक सय ६० अर्ब क्षति पुगेको बताए । कोरोना महामारीबाट थला परेको नेपालको पर्यटन उद्योगमा पछिल्लो समय केही सुधारको सङ्केत देखिएको उनको भनाइ थियो ।

उनले नयाँ सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठोस योजना अगाडि सार्नुपर्ने बताए । नेपालको पर्यटन क्षेत्रको विकासमा व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले नेपालको पर्यटन क्षेत्रको राजधानी ठमेल भएकाले ठमेलको विकासका लागि सरकारले विशेष योजना अगाडि सार्नुपर्ने बताए ।

नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य गंगा कार्की, नेकपा (एमाले) का केन्द्रीय सदस्य भीम केसीले नेपालको आर्थिक विकासको मुख्य आधार जलविद्युत्, कृषि र पर्यटन भएकाले पर्यटन क्षेत्रको विकासका लागि नयाँ सरकारले काम गर्ने विश्वास व्यक्त गरे ।

सरकारका मुख्यसचिव शङ्करदास बैरागीले नेपाललाई विश्वमाझ चिनाउनका लागि पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । उनले नेपालको पर्यटन प्रवद्र्धनका लागि सरकारले पर्यटन दशक मनाउन लागेको बताए ।
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले काठमाडौँको पर्यटन क्षेत्रको विकासका लागि महानगरपालिकाले अक्षयकोष स्थापना गरेर काम गर्दै आइरहेको बताए ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले मुलुकले सोचे जस्तो पर्यटक भित्र्याउन नसकेको भन्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउनका लागि सरकारले विशेष योजना अगाडि सार्नुपर्ने बताए । काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेललाई पर्यटनको विशेष क्षेत्रका रूपमा अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले १० हजार व्यवसायी र ६० हजारले प्रत्यक्ष तथा अप्रत्ययरूपमा रोजगार पाएको ठमेलको विकासका लागि सरकारले विशेष योजना अगाडि बढाउनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७