पढ्दै उद्यमी बन्दै


१७ पुष २०७९, आईतवार
Student 1 scaled
फाइल फोटो

चितवन । विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रमअन्तर्गत विद्यार्थीलाई उद्यमी बनाउन चितवनका तीन क्याम्पसलाई छनोट गरेको छ । क्याम्पसबाट प्राप्त प्रस्तावनाका आधारमा आयोगले विद्यार्थी पढ्दै उद्यमी बन्न पाउने अवसरका लागि चितवनका तीन क्याम्पसलाई छनोट गरेको हो ।

अनुदान आयोगले छानेको क्याम्पसमा भरतपुरको सप्तगण्डकी बहुमुखी, प्रेसिडेन्सी र सहिद स्मृति क्याम्पस रहेका छन् । देशभरबाट १८ क्याम्पस अनुदान आयोगले छनोट गरेको हो । देशभरका उत्कृष्ट शैक्षिक संस्थालाई विश्वविद्यालय अनुदान आयोगले यो परियोजनाका लागि छनोट गरेको हो ।

यस कार्यक्रमअनुसार हरेक क्याम्पसबाट उद्यमशील बन्नका लागि ३० विद्यार्थी छनोट हुनेछन् । उनीहरूले उद्यमशीलताको तालिम लिइसकेपछि सबै प्रक्रिया पूरा गरेर विद्यार्थीले व्यवसाय गर्न रु पाँच लाखदेखि ४० लाखसम्म प्राप्त गर्नेछन् ।

छनोटमा परेका विद्यार्थीले देश तथा विदेशमा गएर उद्यमशीलतासम्बन्धी तालिम लिने अवसर पनि प्राप्त गर्नेछन् । तालिमका लागि प्रतिविद्यार्थी रु ५० हजार र पाठ्यक्रमको विकास गर्न क्याम्पसले रु १५ लाख प्राप्त गर्ने सप्तगण्डकी बहुमुखी क्याम्पस व्यवस्थापन विभागका प्रमुख डा. कपिलदेव सुवेदीले जानकारी दिए ।

उनले भने, ‘पढ्दै र कमाउँदै कार्यक्रमलाई उच्च शिक्षामा प्रयोग गर्न खोजिएको हो । यसका लागि क्याम्पसले विद्यावारिधि गरेका प्राध्यापक नियुक्त गरेर काम सुरु गर्नुपर्छ । यो नयाँ अवधारणाअनुसार आएको योजना हो । विद्यार्थीले ३० देखि ६० घण्टासम्म उद्यमशीलता तालिम पनि यो योजनाको लागि लिनुपर्ने हुन्छ ।’ उनले क्याम्पसहरूले पाएको यो राम्रो अवसर भएकाले यसलाई सहीरूपमा सदुपयोग गर्नुपर्ने बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७