डोटीमा बस दुर्घटना, तीन जनाको मृत्यु, २१ घाइते


२ कार्तिक २०७४, बिहीबार

काठमाडाैं : डोटी जिल्लाको बड्डीकेदार गाउँपालिकामा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् भने घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ ।   तीन दिनअघि पनि जिल्लाको जोरायल गाउँपालिकामा दुर्घटना भएको थियो ।

डोटीको बड्डीकेदार गाउँपालिका वडा नम्बर २ खड्यौलीस्थित सुनालेबाट घनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना। ३ख ५६४८ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बिहान १० बजेतिर भएको दुर्घटनामा परेर २१ जना यात्रु घाइते भएका छन् ।

मृत्यु हुनेमा बड्डीकेदार –४ भुजाली बस्ने ४७ वर्षीय जगदीश चन्द, बड्डीकेदार–४ रोल बस्ने ३५ वर्षीया मीनादेवी पुनमगर र सोही ठाउँका लोकेन्द्र जेठाराकी तीन वर्षकी छोरी पुष्पाकुमारी जेठारा रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक शिवबहादुर सिंहले जानकारी दिए । दुर्घटनापछि बसचालक फरार भएका छन् ।

घाइते हुनेहरूमा बोगटान गाउँपालिका –२ केदारअखडा, बद्रीकेदार गाउँपालिका –४ मान्नाकापडी र सोही गाउँपालिका –५ लानाकेदारेश्वरका बासिन्दा हुन् । घाइतेहरूलाई कर्णाली यातायातको ना। ४ख ६५५२ नम्बरको बसमा उपचारका लागि धनगढी पठाइएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाग्रस्त बस सडकबाट १५० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन । तर, दुरावस्थापूर्ण कच्ची सडकका कारण पटकपटक दुर्घटना हुने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७