भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका पाँच नाकामा कोरोना परीक्षण


२० पुष २०७९, बुधबार
Corona Check Gaddachauki
फाइल फोटो

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका पाँच सीमा नाकामा कोरोना परीक्षणलाई तीव्रता दिइएको छ । यहाँ भारतसँग सीमा नाका जोडिएका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्ला बैतडी र दार्चुलामा गरी पाँच नाकामा कोरोना परीक्षण हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

भारत, चीनलगायत छिमेकीमुलुकमा कोरोनाको नयाँ भेरिएण्ट ओमिक्रोनको सङ्क्रमण फैलिइरहेकोप्रति सतर्कता अपनाउँदै यहाँ भारतबाट स्वदेश फर्किने नेपाली नागरिकको नियमित नाकामा परीक्षण हुने गरेको स्वास्थ्य निर्देशनालयका महामारी सम्र्पक व्यक्ति हेमराज जोशीले जानकारी दिए । ‘छिमेकी मुलुकमा नयाँ खालको भेरिएण्ट फैलिएसँगै हामीले पनि सङ्क्रमण जाँचलाई सीमानाकामा तीव्र गतिमा हेरिरहेका छौं’, जोशीले भने, ‘नयाँ भेरिएण्ट फैलिन सक्नेप्रति सबै सचेत हुनुपर्छ ।’

उनले कैलालीको त्रिनगर भन्सार र खक्रौला नाकाका साथै कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट नाकामा कोरोना परीक्षण हुने गरेको बताए । ‘सबै नाकामा दक्ष स्वास्थ्यकर्मीको टोली परीक्षणमा कोरोनाको पहिलो कहरबाटै खटिएको छ’, उनले भने, ‘नयाँ सङ्क्रमण आउनसक्ने विषयमा प्रदेश सरकार पनि सर्तकता र महामारी न्यूनीकरणका लागि काम अघि बढाइरहेको छ ।’

मुलुकमै कोरोना खोप अभाव रहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि खोप अभाव रहेको छ । ‘बुष्टर डोज ६-६ महिनामा लगाउनु पर्छ’, जोशीले भने, ‘पछिल्लो समय नयाँ खरिद प्रक्रियामा खोप रहेकाले सबैतिर अभाव रहे पनि चाँडै आउने छ ।’

त्यसैगरी कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा महामारीका बेला आश्रय दिन होल्डिङ सेन्टरसमेत तयारी अवस्थामा राखिएका छन् । ‘खोप आउनासाथ पुनः खोप अभियान सञ्चालन हुन्छ’, उनले भने, ‘त्यसका साथै नागरिक पनि महामारीबाट बच्न स्वयम् पनि सचेत हुनुपर्छ ।’ कोरोना सङ्क्रमणबाट सुदूरपश्चिममा हालसम्म छ सय ३५ जनाको मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ । यहाँ छ लाख १९ हजार तीन सय ७३ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो समय यहाँ कोरोना सङ्क्रमण देखिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७