अध्यक्ष लिङ्देनकै नेतृत्वमा राप्रपा सरकारमा जाने, अरू को–को बन्दै छन् मन्त्री ?


२१ पुष २०७९, बिहीबार
Rajendra Lingden
फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनको चौंथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी कम्तीमा तीन मन्त्रालयसहित सरकारमा सहभागी हुने पक्का भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा राप्रपा सरकारमा जाने निश्चित भएको स्रोतले जानकारी दिएको छ ।

लिङ्देन उपप्रधानमन्त्रीसहित सरकारमा जानेछन् । रवि लामिछाने जस्तै लिङ्देन पनि पहिलो पटकमै उपप्रधानमन्त्री बन्दै छन् । तेस्रो ठूलो दल रास्वपाले ३ मन्त्रालय पाउने भएकाले राप्रपालाई २ मन्त्रालय दिने प्रस्ताव छ । तर उसले ३ वटा मन्त्रालय दाबी गरेको छ । वागमतीको मुख्यमन्त्री समेत दाबी गरेको राप्रपाले संघ सरकारमा एक राज्यमन्त्रीसहित ३ मन्त्रालय पाएमा मुख्यमन्त्री छाड्ने बुझिएको छ । वागमती र गण्डकीमा राप्रपाको मत निर्णायक छ ।

लिङ्देनसँगै महामन्त्री डा. धवल शम्सेर जबरा, बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान मन्त्री बन्ने सम्भावना बलियो रहेको छ । अर्का दाबेदार विक्रम पाण्डेको भने भ्रष्टाचार मुद्दामा अख्तियार सर्वोच्च अदालत जान लागेकाले उनी यस पटक मन्त्री बन्ने सम्भावना नरहेको राप्रपा स्रोतले जानकारी दिएको छ ।

जुम्लाबाट निर्वाचित युवा नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाही पनि मन्त्रीका प्रबल दाबेदार हुन् । प्रत्यक्ष निर्वाचित राप्रपाका ७ जना सांसदमध्ये दीपक बोहोरा र विक्रम पाण्डेबाहेक अरूबाट मन्त्री बन्ने सम्भावना छ । समानुपातिकबाट बुद्धिमान तामाङको सम्भावना छ ।

प्रत्यक्ष निर्वाचितमध्येलाई दुई पटक गरेर मौका दिइनेबारे पार्टीमा नेताहरुबीच छलफल भएको छ । मकवानपुरबाट निर्वाचित दीपकबहादुर सिंह यसपटक प्रमुख सचेतक बन्ने र दोस्रो चरणमा मन्त्री बन्ने सम्भावना छ । प्रतिनिधिसभा राप्रपाको १४ सीट छ । राप्रपाले उपसभामुख पाए रोशन कार्कीलाई पठाउने भएको छ । उपसभामुखमा रास्वपाको पनि दाबी रहेको छ ।

पशुपति शम्सेरले समेत आफू अन्तिम पटक कुनै राजकीय जिम्मेवारीमा जान खोजेको राप्रपा नेताहरू बताउँछन् । राणा उपराष्ट्रपति बन्न पनि तयार छन् । मन्त्री बन्न भने लिङ्देनकै नेतृत्वमा सरकारमा जाने भएपछि उनको सम्भावना कम देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७