पनौती नगर अब सीसीटीभीको निगरानीमा


२ कार्तिक २०७४, बिहीबार
cctv

धुलिखेल: ऐतिहासिक पनौती नगरको गतिविधि नियाल्न आजबाट सीसीटीभी क्यामेराबाट निगरानी गर्न थालिएको छ ।काभ्रेपलाञ्चोकको पनौतीस्थित प्रहरी चौकी प्रांगणमा पनौती उद्योग वाणिज्य संघको आयोजना र पनौती नगरपालिकाको सहयोगमा सीसीटीभी जडान गरिएको हो।cctv

प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिमखडा र पनौती नगरपालिका प्रमुख भीम न्यौपानले संयुक्तरूपमा सीसीटीभी क्यामेरा उद्घाटन गरेका हुन्।प्रमुख जिल्ला अधिकारी सिमखडाले यस्ता प्रविधिको प्रयोगले अब पनौती क्षेत्रमा हुने आपराधिक गतिविधि कमी हुने बताए। ‘रक्षा सीमित व्यक्तिको मात्रै हुन्छ, सुरक्षा व्यापक हुन्छ। त्यसैले टीभीले गरेको रेकर्ड लालमोहर लगाए जत्तिकै हुने भएकाले सीसीटीभीको निगरानीमा हुनुहुन्छ भन्ने सूचना व्यापक बनाउन सकेमा पनि त्यसबाट आपराधिक गतिविधि न्यून हुनेछ।’

नगरपालिका प्रमुख न्यौपानेले भने, ‘सुरक्षाको दृष्टिकोणले यो काम सानो प्रयास मात्र भएको हो, पनौतीलाई हाम्रै कार्यकालभित्र विश्व सम्पदा सूचीमा दर्ता गराएरै छाड्छौँ।’

पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले सीसीटीभी क्यामेराले अब पनौतीको सुरक्षा व्यवस्थामा ठूलो सहयोग पुर्‍याउने बताए। ‘मन्दिर नै मन्दिर भएको शहरकारूपमा चिनिएको यहाँका मन्दिरबाट यसअघि टुडाल लगायतका महत्वपूर्ण सामग्री चोरी भएका कारण पनि सीसीटीभी क्यामेरा जडान गरिएको हो।’

पनौती नगरपालिकाको १५ लाख रुपैयाँ र पनौती उद्योग वाणिज्य संघको सात लाख रुपैयाँ गरी २२ लाख रुपैयाँको लागतमा पनौतीका विभिन्न स्थानमा पाँचवटा क्यामेरा जडान गरिएको छ। उक्त टीभीले पनौतीको नमोबुद्ध जाने सडक, खोपासी सडक, कुशादेवी सडक, बाँसडोल सडक र पनौती बस पार्कको निगरानी हुने पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७