मनकारीको सहयोगले रोकालाई पुनःजीवन


२२ पुष २०७९, शुक्रबार
kidny

गण्डकी । सहयोगका भरमा २५ वर्षीय युवा सङ्कल रोकाको मिर्गौला प्रत्यारोपण सफल भएको छ । बागलुङको ताराखोला–५ का रोकालाई दिदी पूर्णमाया रोकाले मिर्गाैला दान दिएकी हुन् । गाउँको नवसिर्जना र असारे युवा क्लबले चलाएको आर्थिक सहयोग अभियानबाट रोकाले पुनःजीवन पाएका हुन् ।

भक्तपुरको सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका चिकित्सकले रोकामा मिर्गौला प्रत्यारोपण गरेको उनका भिनाजु कुलबहादुर रोकाले बताए । रोका र मिर्गाैला दान दिने पूर्णमाया अहिले चिकित्सकको निगरानीमा छन् । कुलबहादुरका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ । ‘धेरै जनाले सहयोगको हात फैलाउनु भयो, उपचार सफल भएको छ, स्वास्थ्य अवस्था पनि राम्रो छ’, उनले भने, ‘गाह्रोसाह्रोमा सहारा दिनु हुने सबै हाम्रो परिवारका लागि धन्य हुनुहुन्छ, सहयोग रकमले लगभग उपचार खर्च धान्ने देखिएको छ ।’

अभियानबाट जुटेको रु १५ लाख ३५ हजार गत कात्तिकमा रोकाका परिजानलाई हस्तान्तरण गरिएको थियो । नवर्सिजना युवा क्लबका अध्यक्ष पूर्णभद्र न्यूरेका अनुसार उक्त रकममध्ये रु ६५ हजार बहराइनमा रहेका जीवन रोकामगरको अगुवाइमा उठेको थियो । परिवारको आग्रहमा दुई क्लब मिलेर सहयोग अभियान चलाएका थिए ।

‘देश विदेशबाट धेरै सहयोगी अभियानमा जोडिनु भयो, त्यही कारण आज एउटा युवाले पुनःजीवन पाउनु भएको छ’, अध्यक्ष न्यूरेले भने, ‘अर्थाभावले उपचारबाट बञ्चित हुनुपर्ने स्थिति आउँदा यसअघि पनि हामीले यसरी नै गाउँमा रकमको जोहो गरेका धेरै उदाहरण छन् ।’

मिर्गाैलाको महँगो प्रत्यारोपण र उपचार थेग्न नसक्ने देखिएपछि रोकाका परिवारजनले सहयोगको याचना गर्दै आएका थिए । गत वर्ष विदेश जाने सुरसारमा रहेकै बेला रोकाका दुवै मिर्गाैलाले काम गर्न छाडेका थिए । अकस्मात बिरामी परेपछि विदेश जान नपाई उनी घर फर्कनुपरेको थियो ।

कमाउने उमेरमा रोगले च्यापेपछि रोका चिन्तित थिए । आफन्त, शुभेच्छुकलगायतको सहयोगमा उनमा मिर्गौला प्रत्यारोपण सफल भएपछि परिवारजनलाई पनि सन्तोष मिलेको छ । दुर्घटना या गम्भीर रोग लाग्दा पैसा नभएकै कारण उपचार पाउन नसक्ने व्यक्तिलाई यसरी नै अभियान चलाएर आर्थिक सहायता प्रदान गर्ने गरिएको क्लबका अध्यक्ष न्यूरेले बताए ।

‘यस्तै प्रकृतिका घटनामा अहिलेसम्म झण्डै रु एक करोड जति जुटाएर सम्बन्धित व्यक्ति र परिवारलाई हस्तान्तरण गरिसकेका छौं’, उनले भने, ‘न्यून आय भएका परिवारमा कसैलाई जटिल स्वास्थ्य समस्या देखिएमा क्बलले आर्थिक सहयोग अभियान थाल्छ, त्यसमा स्वतःस्फूर्त रुपमा रकम जुट्छ ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७