वेल्सका लागि पर्यटन सद्भावनादूतमा सापकोटा


२३ पुष २०७९, शनिबार
Som Sapkota 1 92J0N7RzJK

काठमाडौं । प्रवासमा रहेर लामो समयदेखि नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएका गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) का पर्यटन संयोजक सोम सापकोटा बेलायतको वेल्सका लागि पर्यटन सद्भावनादूत (टुरिज्म गुवविल एम्बेस्टर) नियुक्त भएका छन् ।

नेपालको पर्यटन क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै सरकारले सापकोटालाई चार वर्षका लागि पर्यटन सद्भावनादूतमा नियुक्त गरेको हो । सापकोटालाई मन्त्रिस्तरीय निर्णयअनुसार सद्भावनादूत नियुक्त गर्ने निर्णय गरिएको हो । सापकोटालाई शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नियुक्तिपत्र हस्तान्तरण गरे ।

सो अवसरमा सचिव अधिकारीले लामो समयदेखि पर्यटन क्षेत्रमा आबद्ध सापकोटालाई सरकारले दिएको जिम्मेवारीबाट यो क्षेत्र झनै बिस्तार र बलियो हुने विश्वास व्यक्त गरे । नव नियुक्त सद्भावनादूत सापकोटाले राज्यले आफूमाथि विश्वास गरेर दिएको जिम्मेवारीलाई मुलुकको हित र प्रवासी नेपालीको साथ लिएर सफलतापूर्वक निर्वाह गर्ने बताए । उनले भने, ‘कार्यादेशसहित जिम्मेवारी लिएको छु, अन्य मुलुकका सदभावनादूतसँग पनि समन्वय र सहकार्य गर्दै पर्यटन मन्त्रालय, पर्यटन बोर्डसँगको साझेदारितामा सरकार–सरकारबीच प्रवर्द्धनात्मक अभियान चलाउने योजना बनाएको छु ।’

उनले पर्यटन प्रवद्र्धनका साथै नेपालको आवश्यक सहयोगका लागि रणनीतिक योजनासहित काम गर्ने योजना रहेको बताए । सन् २००७ देखि सन् २००९ सम्म एनआरएनएको पर्यटन प्रवर्द्धन कमिटीको सदस्य भएर काम गरेका सापकोटाले सन २०१३ देखि सन् २०१५ सम्म सोही कमिटीको उपसंयोजक बनेका थिए ।

त्यस्तै उनले सन् २०१६ देखि सन् २०१८ सम्म डेनमार्कका लागि नेपाली टुरिजम बोर्डको मानार्थ जनप्रतिनिधि भएर काम गरे । यसैगरी सापकोटा सन् २०१९ देखि २०२१ सम्म माल्टाका लागि नेपाल टुरिजम बोर्डबाट मानार्थ जनप्रतिनिधिका रूपमा नियुक्त भए । पर्यटन क्षेत्रमा विशेष दखल राख्ने सापकोटा हाल एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रवक्ता एवं पर्यटन प्रवद्र्धन समितिका संयोजक हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७