प्रहरीलाई स्थानीयस्तरमै पुनर्ताजकी तालिम


२५ पुष २०७९, सोमबार
police
फाइल फोटो

रसुवा । हिमाली जिल्ला रसुवामा कार्यरत नेपाल प्रहरीलाई स्थानीयस्तरमै पुनर्ताजकी तालिम प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी हवल्दार एवं सहायक हवल्दर र जवानका लागि भीड नियन्त्रणसम्बन्धी पुनर्ताजकी तालिम प्रदान गरिएको हो ।

कार्यालयले पहिलो चरणमा दक्षिणी रसुवाको कालिकास्थान प्रहरीचौकी परिसरमा २७ सुरक्षाकर्मीलाई तालिम प्रदान गरेको जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले जानकारी दिए । क्रमिकरूपमा यस्ता तालिम प्रदान गरिने उनले बताए । ‘पहिला–पहिला तालिम लिन जिल्ला बाहिर जानुपथ्यो । अहिले कार्यालयमै दक्ष र अनुभवी जनशक्ति छन् । उनीहरुबाटै स्थानीयस्तरमै तालिम गर्न लागेका हौं ।’

उत्तरी क्षेत्रको टिमुरे, थुमन, लाङटाङ, स्याफ्रुबेँसी, चिलिमे, हाकु, धुञ्चे, ग्राङ, दक्षिणी रसुवाको कालिकास्थान, बेत्रावती, डाँडागाउँ, मैलुङ, पारच्याङ, यार्सा लगायतका स्थानमा रहेका प्रहरी चौकीमार्फत आवश्यतानुसार सुरक्षाकर्मी परिचालन गरिएको छ । घटना वा दुर्घटना हुँदा साथ लाङटाङ बाहेक अन्य स्थानका लागि बढीमा आधा घण्टाभित्र घटनास्थल पुग्न सक्ने वातावरण तयार भएको जिल्ला प्रहरी प्रमुख चन्दले बताए ।

यस्तै लाङटाङ, तथा गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गमा भ्रमण गर्न आउने पर्यटकका लागि स्याफ्रुबेंसीमा पर्यटन प्रहरीको छुट्टै एकाइ तैनाथ रहेको छन् । सवैको सहभागिता र सहकार्यबाट जिल्लाको सुरक्षा अवस्था सुदृढ रहेको प्रहरीले दाबी गरेको थियो ।

जिल्लाको भूभाग इलाका क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जको इलाकामा पर्ने भएकाले वन पैदावार, वन्यजन्तुको चोरी सिकारी नियन्त्रणका लागि नेपाली सेनाको गस्ती र सशस्त्र प्रहरीको गस्तीले समेत निरन्तरता दिइरहेका कारण राजमार्गलगायत गाउँ घरको सुरक्षा व्यवस्था थप मजबुत रहेको स्थानीय बताउँछन् ।

रसुवा जिल्लाको सुरक्षा व्यवस्था मजबुत पार्न नेपाल प्रहरीसक्षम रहेको जनाउँदै प्रहरी प्रमुख चन्दले भने, ‘हामी सुरक्षाको लागि २४ सँै घण्टा तयार छौँ कुनै पनि घटना हुने सङ्केत देखिएमा वा घटेमा तुरुन्तै नेपाल प्रहरीको टेलिफोन नं ०१०– ५४०१९९ एवं निःशुल्क फोन १०० को साथै मोबाइल नं ९८५१२७ ५५५५ तथा नजिकको प्रहरीचौकीमा खबर गरी दिन अनुरोध गर्दछु । ’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७