संसदमा रचनात्मक ढङ्गले प्रस्तुत हुन्छौं : सभापति देउवा (पूर्णपाठ)


१०:४६ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभामा रचनात्मक ढंगले प्रस्तुत हुने बताएका छन् ।

सोमबार नयाँ संसदको पहिलो बैठकमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले प्रतिनिधिसभामा कांग्रेस एकताबद्ध, जिम्मेवार र रचनात्मक भइ प्रस्तुत हुने बताएका हुन् । ‘देश र जनाताको बृहत्तर हितमा काम गर्नेछौं । यो प्रतिनिधिसभामा नेपाली कांग्रेस एकताबद्ध, जिम्मेवार र रचनात्मक भइ प्रस्तुत हुनेछ,’उनले भने,’ जनताको जीवनसँग जोडिएका विषयमा हाम्रो विशेष ध्यान जानेछ ।’

देउवाले नेपालको संविधानको रक्षा र कार्यान्वयन,संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सबलीकरण गर्दै देशमा दिगो शान्ति, सुशासन,विकास र संमृद्धि प्राप्त गर्ने लक्ष्यमा अबिचलित रुपले लागिरहने बताए । उनले आगामी दिनमा नेपाली काँग्रेस जनताको अपेक्षाअनुसार काम गर्ने विश्वास व्यक्त गरे।

’पार्टीका साथीहरुको भावनाअनुसार काम गर्नेछ।हाम्रा असंख्य सहीदहरुको त्याग,तपस्या र बलिदानबाट हामीले प्रेरणा पाएका छौं,’ देउवाले भने, ‘संस्थापक नेता वी.पी.कोइराला,सुवर्ण शसशेर, गणेशमान सिंह,कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसाद कोईराला, सुशील कोइरालालगायतका नेताहरुको मार्ग दर्शनले हाम्रो यात्रा निर्देशित छ ।’ देउवाले आफ्नो पार्टीलाई ठूलो दल बनाएकोमा मतदातालाई धन्यवाद दिँदै जनताको विश्वासमा ठेस लाग्न नदिने प्रतिवद्धता जनाए ।
देउवाको सम्बोधनको पूर्णपाठ
सम्माननीय सभामुख महोदय,

(१) नेपालको वर्तमान संविधान जारी भएपछि दोस्रो प्रतिनिधि सभाको पहिलो बैठक आज प्रारम्भ हुँदैछ । म सबै भन्दा पहिले देशमा लोकतान्त्रिक व्यवस्थाको स्थापना, पुर्नस्थापना र संरक्षणकालागि जीवन आहुती दिन हुने सम्पूर्ण प्रातः स्मरणीय ज्ञात, अज्ञात शहिदहरुमा हार्दिक श्राद्धान्जली अर्पण गर्दछु ।
(२) देशमा संघीय, लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्न र बर्तमान संविधान निर्माण गर्न योगदान गर्नु हुने सबैका प्रति उच्च सम्मान गर्दै प्रसंशा गर्न चाहन्छु ।
(३) प्रतिनिधि सभामा निर्वाचित भएर आउनु भएका सबै माननीय सदस्य साथीहरुलाई हार्दिक बधाई दिन चाहन्छु । तपाईहरु पाँच वर्षको आफ्नो कार्यकालमा देश र जनताको हितमा काम गर्न सर्वथा सफल हुनु हुनेछ भन्ने विश्वास गर्दै कार्यकालको पूर्ण सफलताको शुभ कामना व्यक्त गर्दछु । तपाईहरुलाई निर्वाचित गर्ने जनताको भावना अनुरुप काम गर्न अनुरोध गर्दछु ।

(४) माननीय पुष्प कमल दाहाल प्रचण्डजी प्रधानमन्त्री नियुक्त हुनु भएको छ। वहाँको नेतृत्वमा नयाँ मन्त्रिपरिषदको गठन भएको छ। म नव नियुक्त प्रधानमन्त्री माननीय प्रचण्डजीलाई हार्दिक बधाई दिन चाहन्छु । वहाँको कार्यकालको पूर्ण सफलताको हार्दिक शुभ कामना व्यक्त गर्दछु । मन्त्रिपरिषदमा नव नियुक्त माननीय मन्त्रीज्यूहरुलाई बधाईका साथै सफलताको शुभ कामना व्यक्त गर्दछु ।

(५) आज भन्दा अठार महिना पहिले अप्रत्यासित तवरले विकसित राजनीतिक घटनाक्रमको बिचमा नेपाली काँग्रेस सहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सहयोग र समर्थनमा म प्रधानमन्त्री नियुक्त भएको थिए । तत्कालीन अवस्थामा संविधानको भावना बमोजिम प्रतिनिधि सभालाई पूर्ण कार्यकाल कार्य सम्पादन गर्ने सुनिश्चितता गर्नु, स्थानिय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन समयमा सम्पन्न गरि देशलाई लोकतान्त्रिक मार्गमा अग्रसर गराउनु मेरो नेतृत्वको सरकारको प्राथमिक जिम्मेवारी थियो । यस कार्यमा तमाम चुनौति र कठीनाईहरु थिए तापनि प्रतिनिधि सभा पूर्ण कार्यकाल कायम रह्यो । स्थानिय तहको निर्वाचन समयमा सम्पन्न भयो। पछिल्लो पटक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन स्वतन्त्र, निस्पक्ष, भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न भएर आज हामी प्रतिनिधि सभाको पहिलो बैठकमा बसी रहदा मलाई हर्ष एवं गौरवको अनुभूति भएको छ । म यस अवसरमा सवैमा हार्दिक धन्यवाद दिन चाहन्छु ।
सभामुख महोदय,

(६) आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य शर्त हो। स्थानिय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनहरु समयमा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने देश भित्र र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहीनी, दाजुभाइहरु, सबै मतदाता, राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय, समग्र कर्मचारी संयन्त्र, नागरिक समाज, बुद्धिजिवि, संचार जगत र निर्वाचनमा प्रत्यक्ष वा परोक्ष रुपले संलग्न भई सहयोग गर्ने सबैमा हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु । निर्वाचनको प्रयोजनकालागि अन्तर्राष्ट्रिय जगतबाट प्राप्त सद्भाव र सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।

(७) म माननीय सदस्यहरुलाई विषेश रुपले आग्रह गर्न चाहन्छु। यो प्रतिनिधि सभावाट नेपाली जनताले धेरै अपेक्षा राखेका छन्। हाम्रो आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साझा लक्ष्य हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता हो ।यसका लागि नेपालको संविधानको रक्षा र संविधानको भावना अनुरुप कार्यान्वयन अनिवार्य शर्त हो । संविधानको कार्यान्वयनका लागि धेरै नीति र कानून निर्माण गर्न बाँकी छ।संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि त्यस अनुरुपका आवश्यक नीति र कानून बनाउनु छ । लोकतन्त्रको उन्नयनका निमित्त संविधान कानूनका साथै नैतिक आचरणको विषेश महत्व हुन्छ । हाम्रो सम्पूर्ण उर्जा, मनस्थिति, व्यवहार र काम कारवाहि नेपाल र नेपाली जनताको बृहत्तर हितका निमित्त केन्द्रीत हुनु पर्दछ।सबै माननीय साथीहरुमा म हार्दिक अपील गर्न चाहन्छु प्रतिनिधि सभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरणका लागि विषेश योगदान गर्न सकोस्। हामी सबै यसमा सफल हुन सकौं ।

सभामुख महोदय,

(८) मंसिर ४ गते सम्पन्न निर्वाचनबाट नेपाली काँग्रेस प्रतिनिधि सभा र प्रदेश सभामा सबै भन्दा ठूलो राजनीतिक दल बनेको छ । नेपाली काँग्रेसमा यति ठूलो विश्वास र भरोसा गरेर जनमत प्रदान गर्नु हुने देश भित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दाजूभाई, दिदीबहिनीहरुमा आभार व्यक्त गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु । पार्टीका सबै साथीहरुले गर्नु भएको मेहनतको उच्च सराहना गर्दै धन्यवाद दिन चाहन्छु । सञ्चार माध्यमले जनतालाई सुसूचित गर्ने गरि असल काम गर्नु भएको छ।वहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु।नागरिक समाज, बुद्धिजिवि लगायत सबै शुभेच्छुक प्रति आभारी छु । म सम्पूर्ण दाजुभाइ, दिदीबहिनीलाई विश्वास दिलाउन चाहन्छु, तपाईले दिनु भएको विश्वासमा ठेस लाग्न दिने छैनौं । नेपाली काँग्रेस जनताको अपेक्षा र पार्टीका साथीहरुको भावना अनुसार काम गर्नेछ । हाम्रा असंख्य शहिदहरुको त्याग, तपस्या र बलिदानवाट हामीले प्रेरणा पाएका छौं ।

संस्थापक नेता वि.पी. कोईराला, सुवर्ण शसशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसाद कोईराला, सुशील कोईराला लगायतका नेताहरुको मार्ग दर्शनले हाम्रो यात्रा निर्देशित छ। म सबै नेताहरुको योगदानलाई श्रद्धापूर्वक स्मरण गर्न चाहन्छु । म नेपाली काँग्रेसको ईतिहासलाई पनि स्मरण गरिरहेको छु । देशमा जुनसुकै बेला जस्तोसुकै समस्या आई परेपनि काँग्रेसले आफ्नो नेतृत्वमा समाधान दिएको छ । यो सुनौलो ईतिहासले हामीलाई आगामी दिनमा पनि प्रेरणा दिईरहने छ । देशभरिका लाखौं साथीहरुको कठोर परिश्रम, मेहनतले हामी नेपाली जनतामाझ स्थापित भएका छौं । म सबै साथीहरुलाई विश्वास दिलाउन चाहन्छु शहिदहरुको बलीदान, नेताहरुको प्रेरणा र मार्ग निर्देश र साथीहरुको परिश्रम खेर जान दिईने छैन । हामी नेपालको संविधानको रक्षा र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सबलीकरण गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र संमृद्धि प्राप्त गर्ने हाम्रो लक्ष्यमा अबिचलित रुपले लागीरहने छौं । देश र जनताको बृहत्तर हितमा काम गर्ने छौं । यो प्रतिनिधि सभामा नेपाली नेपाली काँग्रेस एकताबद्ध, जिम्मेवार र रचनात्मक भई प्रस्तुत हुनेछ । जनताका जीवनसँग जोडिएका विषयमा हाम्रो विषेश ध्यान जानेछ ।

सभामुख महोदय

(९). अन्तमा एक पटक पुनः नव नियुक्त प्रधानमंत्री माननीय पुष्पकमल दाहाल प्रचण्डजी र सबै माननीय सदस्यहरुलाई बधाई र कार्यकालको सफलताको कामना गर्दछु ।
धन्यवाद । जय नेपाल ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७