यो स्थिर र स्थायी सरकार हो, हल्लाको पछि नलाग्नु होला : ओली


०८:०५ बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकार ‘स्थिर र स्थायी’ सरकारका रुपमा चल्ने दावी गरेका छन् ।

आज (सोमबार) सरकारको नीतिगत कार्यक्रमको मस्यौंदा प्रधानमन्त्रीलाई हस्तान्तरणपछि धारणा राख्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यो सरकार ढल्छ कि भनेर नसोच्न आग्रह गरे । ‘यो सरकार ढाल्ने खेल हुन्छ कि भनेर नसोच्नु होला । धेरै खेलाडी रिङ बाहिर छन् । सरकार बनाएको स्थायित्वका लागि हो । इपेक्टिभ सरकारका रुपमा अघि बढ्छ’, ओलीले भने । उनले अहिले सरकारलाई १८५ जति सांसदको समर्थन रहेको भन्दै भोलिसम्म अझै थपिन सक्ने बताए ।

अध्यक्ष ओलीले संसदको पहिलो पार्टी नेपाली कांग्रेसले विश्वासको मत दिए अफ्ठ्यारो नमान्न आग्रह गरेका छन् । ‘संसदमा रहेका करिब सबै दलको सरकारलाई समर्थन छ । एक हिसाबले भन्ने हो भने असधारण मत पनि छ । भोलि झन असाधारण मतको अपेक्षा हामी गर्न सक्छौं । त्यसमाथि ८५–८८ थपिए पनि अफ्ठ्यारो मान्नु पर्दैन’, उनले भने ।

उनले कांग्रेसतर्फ इंगित गर्दै गिलास बाहिर पानी हाल्नुको अर्थ नरहेको कटाक्ष गरेका छन् । ‘गिलासमा पानी थापिरहेको छ । गिलासमा नहालेर बाहिर किन हाल्ने ? सबैले गिलासमै पानी हाल्नु हुन्छ भन्ने विश्वास लिएको छु,’ उनले भने ।

उनले सबै पार्टीलाई गठबन्धनको सरकारलाई विश्वासको मत दिन आह्वान गरे । उनले दलहरूबीच केही मतभेद भए पनि स्थायित्वका लागि एक हुन आग्रह गरे । ‘यो सरकार नेपाली जनताले चुनेर बनाएको संसदको, जनता र संसदको अभिमतबाट बनेको सरकार हो । यसको मर्म बुझेर, आशंका नगर्न आग्रह गर्दछ,’ उनले भने ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७