ओलीप्रति लक्षित माधव नेपालको टिप्पणी : यो गिरिजाको समयको नेपाल होइन


२०७९ पौष २६ मंगलबार ०७:१८ बजे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इङ्गित गर्दै संसद् विघटन प्रधानमन्त्रीले लहडको भरमा गर्न नमिल्ने बताएका छन् । उनले प्रतिनिधि सभा विघटन प्रतिगामी थियो भन्ने महसुस अध्यक्ष ओलीले गरेका होलान् भन्ने सोचे पनि अझै आत्मालोचना हुन नसकेको बताएका छन् ।

मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले ओलीले प्रतिनिधि सभा विघटन गर्न पाइन्छ भनिरहेको भन्दै आपत्ति जनाएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्न नपाउने भन्दै सरकारलाई प्रतिनिधि सभा विघटन गर्ने कुरामा नलाग्न सचेत गराए । उनँले अध्यक्ष ओलीप्रति लक्षित गर्दै विदेशको कुरा ल्याएर संसदमा नअल्झाउन आग्रह गरे । अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि विश्वासको मत दिने भनिसकेपछि आत्तिनु पर्ने अवस्था नरहेको बताएका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त गर्नुपर्ने हतारो छ, हतार गरेर केही हुँदैन । प्रमुख प्रतिपक्ष दलले नै विश्वासको मत दिने भनेपछि अब झस्किनुपर्ने केही छैन । हामीले आशा गरेकै व्यक्ति प्रधानमन्त्री बनेपछि आत्तिनु पर्ने आवश्यकता छैन । तर ख्याल गर्नुपर्छ, संविधानप्रतिको प्रतिबद्धता छ कि छैन, शङ्का गर्नुपर्ने कुरा त्यहाँ छ ।’

उनले थपे, ‘किनभने यही रोस्ट्रममा मैले संसद् विघटन गर्न पाइन्छ भनेको सुनें । यो गठबन्धनको यो हो भने खतरनाक सङ्केत हो । के यो ब्रिटेन हो, भारत हो, पुरानो नेपाल हो ? गिरिजाप्रसाद कोइराला नेतृत्वको २०५१ सालको सरकार हो ? २०५८ सालको शेरबहादुर देउवा नेतृत्वको सरकार हो ? होइन, ख्याल के होस् भन्दा राणाकालमा पनि २००५ सालमा, २००७, २०१९, २०४७ सालमा संविधान बन्यो, २०४७ मा त म आफैँ संलग्न छु । विगतका त्रुटि नदोहोर्‍याउने प्रतिबद्धता गरेका छौँ । हेक्का रहोस्, प्रधानमन्त्रीले जथाभाबी प्रतिनिधि सभा विघटन गर्न पाउँदैनन् ख्याल होस् । संविधानले आफूखुसी संसद् विघटन गर्ने अधिकार दिएको छैन ।’ अध्यक्ष नेपालले अर्को सरकार विकल्प हुञ्जेलसम्म कसैको लहडको भरमा प्रतिनिधि सभा विघटन गर्न नपाउने बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७