बाहिरी चक्रपथको डीपीआर सरकारद्वारा स्वीकृत, एक लाख रोपनी जग्गा अधिग्रहण गरिने


६ बैशाख २०७५, बिहीबार
ringh road copy 1942018053623

काठमाडौं, ६ बैसाख । सरकारले ‘बाहिरी चक्रपथ’ को विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले मंगलबार जग्गा प्राप्ति ऐन जग्गा अधिग्रहणका लागि अधिकार दिंदै डीपीआर स्वीकृत गरेको छ ।
सरकार गठनको भएको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री केपी ओलीद्वारा बाहिरी चक्रपथको शिल्यान्यास गर्ने कार्यक्रम तय भएको उनले जानकारी गराइएको छ ।ringh road copy 1942018053623

‘चोभारमा शिल्यान्यास गर्छौं,’ काठमाडौं उपत्यका विकास प्राधिकरण बाहिरी चक्रपथका प्रवक्ता धु्रव सापकोटाले भने, ‘तीवरूपमा काम अघि बढ्छ ।’ पहिलो चरणमा सतुंगल–चोभार खण्डको करीब ६ किमिमा काम हुनेछ । पूरै बाहिरी चक्रपथ निर्माण गर्दा ८० हजारदेखि १ लाख रोपनीसम्म जग्गा अधिग्रहण गरिनेछ । निर्माण क्रममा भत्काइने घरको मुआब्जा दिने र जग्गाको साटो जग्गै दिने उनले बताए ।

जग्गा अधिग्रहणका लागि बैठकले स्वीकृति दिएसँगै अब बाहिरी चक्रपथ निर्माणको बाटो खुला भएको छ । ‘मन्त्रिपरिषद् बैठकले निर्णय ग¥यो भन्ने हामीले पनि सुन्यौं,’ काठमाडौं उपत्यका विकास प्राधिकरण बाहिरी चक्रपथका प्रवक्ता धु्रव सापकोटाले भने, ‘पत्र आएको छैन, अब पत्र प्राप्त होला ।’

‘५० मिटर चौडाइ सडकवरपरै व्यवस्था गर्छौं, कोही विस्थापित हुनु पर्दैन,’ उनले भने, ‘२ सय ५० मिटर दायाँबायाँ परेका घर भत्काउँदैनौं, खाली जग्गालाई जग्गा विकास कार्यक्रममार्फत घडेरीमा परिणत गर्छौं ।’ जग्गा पर्ने स्थानीय बासिन्दालाई दाबी विरोध गर्न ३५ दिने सार्वजनिक सूचना जारी भइसकेको उल्लेख गर्दै उनले भने, ‘विरोध छैन, अब सरकारले निर्देशन दिइसक्यो काम अघि बढ्छ ।’ आव ०५६ र ०५७ मा सरकारले बाहिरी चक्रपथको परिकल्पना गरेको थियो ।
व्यवस्थित बस्ती र दिगो सहरीकरणको महत्वाकांक्षी योजनाका रूपमा बाहिरी चक्रपथलाई अघि सारिएको हो ।

बाहिरी चक्रपथ वरिपरि वातावरणमैत्री, प्रविधियुक्त र सुविधा सम्पन्न बस्ती बनाउने लक्ष्य छ । यसको सामाजिक तथा वातावरणीय अध्ययन पूरा भइसकेको छ । उपत्यकाका तीन जिल्लाका तत्कालीन ४० गाविस र ३ नगरपालिका छुने गरेर ७१.१० किमिको चक्रपथ प्रस्ताव गरिएको छ । पाँच वर्षभित्र निर्माण गर्ने लक्ष्य रहेको यो चक्रपथको सतुंगलदेखि गम्चा हुँदै चोभारसम्म नयाँ ट्रयाक खोल्ने तयारी पूरा भएको उनले बताए ।

अर्थ मन्त्रालयले ७ वर्षअघि आयोजनाका लागि करीब १० करोड र क्षतिपूर्तिका लागि ३ करोड रुपैयाँ छुट्याएको थियो । त्यसमध्ये ९ करोड रुपैयाँ कार्यालय सञ्चालनमै सकिएको छ । मुआब्जाका लागि छुट्याएको रकम खर्च नहुँदा प्रत्येक वर्ष ‘फ्रिज’ हुँदै आएको छ । बाहिरी चक्रपथ काठमाडौं, ललितपुर र भक्तपुरमा क्रमशः ३५.८, १५.८० र २१.०५ किमि रहने अनुमान छ । सडक खण्डका विभिन्न स्थान गरी १.५ किमि सुरुङमार्ग बन्नेछ । ५० मिटर चौडाइको यो चक्रपथ ८ लेनको हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७