सन्दीपका वकिल भन्छन्, ‘क्रिकेट संघले अब उनैलाई नै कप्तान बनाउनु पर्छ’


२९ पुष २०७९, शुक्रबार
Sandeep lamichhane 2 2

काठमाडौं । सन्दीप लामिछानेका वकिल सरोजकुमार घिमिरेले उनी थुनामुक्त भएपछि उनलाई कप्तान बनाउनु पर्ने बताएका छन् । उच्च अदालत पाटनले पुस २८ मा जिल्ला अदालत, काठमाडौंको आदेश उल्टाउँदै लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । उ

च्च अदालतले आदेशमा केही शर्त राखेको थियो । त्यसबारे जानकारी दिन अधिवक्ता घिमिरे आज बिहान कारागार पुगेका हुन् । अदालतको आदेशको पालना गर्दै के गर्ने र के नगर्ने भन्ने विषयमा जानकारी दिएको अधिवक्ता घिमिरेले बताएका छन् ।

लामिछानेलाई भेटेर फर्किएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै घिमिरेले भने, ‘अदालतले मुद्दाको गम्भीरता पनि हेरेको छ । त्यसैले सन्दीपलाई अदालतको आदेशबारे जानकारी गराएको छु ।’ फौजदारी न्याय सम्बन्धी मुद्दामा पाटन उच्च अदालतले गरेको विशेष आदेश भएको उनको भनाइ थियो ।

‘यस्तो अपराधमा यो एउटा युनिक आदेश पनि हो’, घिमिरले भने, ‘फौजदारी न्यायमा खासगरी थुनछेकको इस्युमा यो आदेशमा वृहत ब्याख्या भएर आएको छ ।’ उच्च अदालतले खेलसम्बन्धी कुनै आदेश नगरेको विषयमा वकिल घिमिरेले भने, ‘खेलबारे त आदेश गर्नुपर्ने आवश्यकता नै छैन नि । सन्दीप थुनामा परेकाले क्यानले निलम्बन गरेको हो । थुनाबाट बाहिर निस्केपछि त क्यानले कप्तानी फिर्ता दिनुपर्ने हुन्छ ।’

बलात्कारको आरोपमा मुद्दा प्रक्रिया शुरू हुनुअघि लामिछाने राष्ट्रिय क्रिकेट टोलीका कप्तान थिए । उनीविरुद्ध मुद्दा शुरु भएपछि क्यानले निलम्बन गरेको थियो । अहिले लामिछाने दोषी ठहर नभएकाले क्रिकेट खेल्न पाउने उनका वकिलले तर्क गरेका छन् । घिमिरेले थपे, ‘सन्दीप दोषी करार भइसकेका छैनन् । त्यसैले थुनामुक्त भएपछि तत्काल कप्तानको जिम्मेवारी दिनुपर्छ ।’

अधिवक्ता घिमिरेले सन्दीपको स्वस्थबारे बताउँदै शारीरिक रुपमा ठीक रहेको तर, मानसिक रुपमा काउन्सिलङ भइरहेको जानकारी दिए । उच्च अदालत, पाटनले दिएको आदेश जिल्ला अदालतमा पुगिसकेको छ । अब थप कानूनी प्रक्रिया पूरा गरेर आजै रिहा हुने भएका छन् । उनको परिवारले धरौटीका लागि आवश्यक २० लाख रुपैयाँ जुटाइरहेको घिमिरेले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७