बालकोटमा एमाले अध्यक्ष ओलीसँग जापानी पूर्व राज्यमन्त्रीको दुई घण्टा कुराकानी


२९ पुष २०७९, शुक्रबार
japan

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग जापानका पूर्वराज्यमन्त्री मासाकी तायराले भेटवार्ता गरेका छन् ।

उनीहरूबीच अध्यक्ष ओलीको निजी निवास बालकोटमा हिजो बिहीबार करिब दुई घण्टा भेटवार्ता भएको हो । भेटमा नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध, आगामी दिनमा गर्न सकिने सहयोग आदान–प्रदानलगायतका विषयमा केन्द्रित रहेर छलफल भएको बताइएको छ ।

भेटका अवसरमा अध्यक्ष ओलीले नेपाल र जापानबीचको सम्बन्ध कतै पनि दाग नलागेको र अत्यन्त आत्मीय रहेको बताउँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको भए पनि नेपाल र जापानबीचको सम्बन्ध १२४ वर्षदेखि निरन्तर रहेको स्मरण गराएका थिए ।

अमेरिकाले जापानका दुई सहर हिरोशिमा र नागासाकीमा परमाणु बम खसालेर गरेको नरसंहारका विषयमा पनि उनीहरूबीच खुलेर कुराकानी भएको थियो । अध्यक्ष ओलीले जापानी जनताले ती दिनमा भोगेको पीडाको सम्झना गर्दै र जापानी जनताको मुुक्तिको कामना गर्दै परमाणु बम प्रयोगका विरुद्धमा नेपालले हरेक वर्ष नेपालमा ‘परमाणु बमविरुद्धको दिवस’ मनाउने गरेको बताए ।

अध्यक्ष ओलीले १८९९ मा जापानका भिक्षु नेपाल भ्रमणमा आएपछि १९०२ मा आठजना विद्यार्थी अध्ययनका लागि जापान पठाइएको, सन् १९७५ मे १६ का दिन जापानी महिला जुनको तावेईले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको विषय स्मरण गराउँदा मन्त्री तायरा पटक भावुक बनेका थिए ।

भेटमा नेकपा (एमाले) परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, एमाले परराष्ट्र विभाग सचिव डा. अञ्जान शाक्यलगायत सहभागी थिए । भेटको सुरुमै जापानी पूर्व राज्यमन्त्री तायराले नेपाल भ्रमणमा रहेको आफ्नो नेतृत्वको टोलीलाई निवासमै बोलाएर भेट गरेकोमा खुशी व्यक्त गरेको एमाले परराष्ट्र मामिला विभाग सचिव डा. अञ्जान शाक्यले जानकारी दिए ।

उनका अनुसार तायराले नेपाल र जापानबीचको कूटनीतिक सम्बन्धलाई अझ विस्तार गरेर अघि बढाउने कुरामा आफू सकारात्मक रहेको बताए । भेटवार्ताका क्रममा अध्यक्ष ओलीले उठाएका विषय स्वदेश फर्केर प्रधानमन्त्रीलाई सुनाउन आफू आतुर भएको पूर्वमन्त्री तायराले बताए । तायराले नेपालको विकास र समृद्धिका लागि जापानले सहयोगको हात अघि बढाउने र सहयोगी बन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘नेपाली नागरिक असल र अनुशासित भएकाले जापानले नेपालीलाई पछिल्लो समय फ्रन्ट लाइनमा पनि काम दिन थालेको छ,’ तायराको भनाई उद्धृत गर्दै सचिव शाक्यले भने, ‘नेपाली नागरिकले दिलाएको विश्वासबाट प्रभावित भएर विस्तारै जापानले नेपालीलाई तथ्याङ्क सङ्कलन, प्रविधि, रकेट प्रविधिको उत्पादन जस्ता काममा पनि सहभागी गराउने प्रयास थालेको छ ।’ भेटमा जापानी पूर्व राज्यमन्त्री तायराले नेपाललाई कृषि, ऊर्जा, प्रविधि, पर्यटन जस्ता विषयमा सहयोग गर्न तयार रहेको बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७