भूमि आयोगका अधिकृत पोखरेलविरुद्ध १ करोड ६ लाख बढीको भ्रष्टाचार मुद्दा


२९ पुष २०७९, शुक्रबार
Akhtiyar

काठमाडाैं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोगमा कार्यरत शाखा अधिकृत गणेश प्रसाद पोखरेलविरुद्ध १ करोड भन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पोखरेलविरुद्ध १ करोड ६ लाख ३३ हजार ३ सय ३९ रुपैयाँ ९२ पैसा बिगो कायम गरेर शुक्रबार विशेषमा मुद्दा दायर गरेको हो ।

अख्तियारले अकुत सम्पत्ति जफत गर्ने प्रयोजनका लागि पोखरेलकी पत्नी बिमला न्यौपाने पोखरेलाई पनि प्रतिवादी बनाएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधारामा निमित्त प्रमुख रहँदा अख्तियारले पोखरेलमाथि अनुसन्धान थालेको थियो । त्यसपछि पोखरेल सरुवा भएर भूमि आयोगमा पुगेका थिए । हाल आयोगमै कार्यरत रहेका बेला उनीविरुद्ध अकुत सम्पत्ति आर्जनको कसुरमा अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले पोखरेल सरकारी सेवामा प्रवेश गरेको मिति २०४६ असारदेखि २०७८ फागुन १५ को अवधिमा उनी र परिारका नाममा रहेको चलअचल सम्पत्तिमाथि अनुसनधन गरेको थियो ।

अख्तियारले पोखरेलका नाममा रहेको सम्पत्ति र खर्च तथा लगानी, सोही अवधिको आयहरुको जाँच अवधिमा उनको पारिश्रमिक बचत, बिभिन्न भत्ता तथा पुरस्कार, घरजग्गा बिक्री, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषबाट लिएको कर्जा आय, घर बहाल आय, बीमा, बिदेशबाट पठाएको रेमिट्यान्स, मोटरसाइकल बिक्री, शेयर बिक्रीबाट प्राप्त रकम र कृषि आयसमेतमा अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा अख्तियारले ४ करोड ३७ लाख ८८ हजार ४ सय २ दश पैसा बराबरको चलअचल सम्पत्ति फेला पारेकोमा ३ करोड ३१ लाख ५५ हजार ६२ रूपैयाँ १९ पैसाको मात्रै स्रोत खुलेको र स्रोत नखुलेकोलाई बिगो कायम गरी आरोपित विरुद्ध अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७