अनुदानमा भैंसी पाएसँगै फेरियो किसानको दैनिकी


३० पुष २०७९, शनिबार
buffalo palan
फाइल् फोटो

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले दूधमा आत्मनिर्भर बन्ने लक्ष्यले उन्नत जातको भैँसी वितरण गरेपछि स्थानीय किसानको दैनिकी फेरिएको छ । दुग्ध मिसन कार्यक्रमअन्तर्गत किसानलाई १३ वटा भैँसी र उन्नत जातको राँगो वितरण गरेपछि किसानको दैनिकीमा परिवर्तन आएका हो ।

गाउँपालिकाले भैंसी वितरण गरेपछि अहिले किसानले उत्पादित दूधलाई बजारमा पठाउन थालेका छन् । गाउँपालिकाले यहाँको प्रगतिशील सहकारीमार्फत गत असारमा १६ लाख लागतमा नौ ओटा लैनो भैंसी एउटा राँगो, चार ओटा च्याप कटर र पीठो चोकर किसानलाई वितरण गरेको हो ।

त्यस्तै वडा नं ५ सानोदुम्ममा रहेको खड्का कृषि तथा पशुपालन फार्मलाई रु तीन लाख ९४ हजार बराबरको तीन ओटा भैंसी, एउटा राँगो र च्याप कटर तथा उन्नत जातको घाँसको बीउ समेत वितरण गरेको छ । गाउँपालिकालाई दुग्ध क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्यले दुग्ध ‘मिसन कार्यक्रम’ नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । पशुपालन किसानलाई प्रोत्साहन गर्न गाउँपालिकाले यस्तो कार्यक्रम सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

‘पशुपालक किसानलाई प्रोत्साहन गर्दै गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन भैंसी वितरण गरेका हौं’, अध्यक्ष राईले भने, ‘अहिले यहाँ उत्पादन भएको दूध सदरमुकामसम्म जान थालेको छ । यही दुग्ध उद्योग खोलेर पनि किसानले दूधको परिकार बेच्न थालेका छन् । यो कार्यक्रमलाई आगामी दिनमा पनि थप विस्तार गर्दै लैजान्छौं । दूधको उत्पादनका आधारमा बजारीकरणमा पनि सहजीकरण गर्ने योजना छ ।’

गाउँपालिकाले सामूहिक खेती तथा बाँझो जमिनको सदुपयोग गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको पनि अध्यक्ष राईले बताए । भौतिक पूर्वाधारसँगै कृषिको क्षेत्रमा योजनाबद्ध विकास गरिरहेको अध्यक्ष राईको भनाइ छ । गाउँपालिकाले उन्नत जातको भैँसी दिएपछि कृषक उत्साहित भएका छन् । कृषि तथा पशुपालनको क्षेत्रमा गाउँपालिकाले सञ्चालन गरेका योजना प्रभावकारी रहेको स्थानीय भैंसीपालक कृषक नवीन खड्काले बताए ।

‘अहिले आर्थिक रुपमा टेवा पुगेको छ’, कृषक खड्काले भने, ‘दैनिकी घर खर्च चलाउन सकेका छौँ । गरिब तथा विपन्न परिवारले त अहिले भैँसी किनेर पाल्न सक्ने अवस्था नै छैन । हामी आफैले तराईका भैँसी फार्ममा गएर छानेर ल्याएका हौँ । त्यस्ता कृषकको पीडालाई बुझेर गाउँपालिकाले गरिरहेको काम प्रशंसायोग्य छ । अन्य स्थानीय तहहरुमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।’

लैनो भैंसी पाएकाले आफ्नो जीविका मार्फतमा प्रत्यक्ष लाभ पुगेको अर्का कृषक सुवास अधिकारीले बताए । तराईबाट ल्याएको उन्नत जातको भैँसी भए पनि यहाँको हावापानीमा सहज रुपमा नै घुलमिल भएको अधिकारीको भनाइ छ । भैंसीबाट उत्पादन भएको दूध बजारमा बेच्न थालेको समेत उनले बताए । ‘गाउँपालिकाले हामी जस्ता कृषकको उदार गरेको छ’, कृषक अधिकारीले भने, ‘कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमले हामीलाई प्रत्यक्ष रुपमा लाभ पुगेको छ । अहिले हाम्रो दैनिकी फेरिएको छ । उत्पादित दूध बजारमा बिक्री गरिरहेका छौँ ।’

उत्पादन भएको दूध स्थानीय बजारमा तथा तिवारीभञ्ज्याङमा रहेको डेरीमा प्रतिलिटर रु ५५ मा बिक्री गरिरहेको अधिकारीले बताए । आफ्नो ठाउँका किसानहरुबाट सङ्कलन भएको दूध भोजपुर सदरमुकाममा जाने गरेको उनको भनाइ छ । कृषक अधिकारीले भने, ‘हामीले यहाँको स्थानीय डेरीमा बिक्री गरिरहेका छौँ । यहाँ प्रतिलिटर रु ५५ पाउँछौं । यसले दैनिक जीवन गुजारा गर्न सहज भएको छ । यहाँको खपत हुन नसकेको दूध सदरमुकाम जान्छ ।’ गाउँपालिकाले कृषिमा बहुवर्षीय बालीहरु (एभोकाडो, किवी, चिउरी) खेतीमा प्राथमिकताका साथ काम गरिरहेको गाउँपालिकाको भनाइ छ ।

त्यस्तै तरकारीको खेतीमा पनि किसानलाई सहयोग गरिरहेको गाउँपालिका उपाध्यक्ष जोत्सना राईले बताइन् । उपाध्यक्ष राईले भनिन्, ‘गाउँपालिका तरकारीमा आत्मनिर्भर बनिसकेको छ । यहाँको उत्पादन अहिले अन्य ठाउँमा समेत जान थालेको छ । अब भने हामीले तरकारीसँगसँगै पछिल्लो वर्षमा आएर कृषकलाई बहुवर्षीय बाली लगाउनमा केन्द्रित गरिरहेका छौँ । यस्ता बालीले उनीहरुले धेरै वर्षसम्म आम्दानी लिन सक्छन् ।’

गाउँपालिकाको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत साझेदारीमा भैँसी दिएको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । ‘हामीले किसानलाई दुग्ध उत्पादनमा जोड्नका लागि ७५ प्रतिशत अनुदानमा भैँसी दिएका छौं’, प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने, ‘खास गरेर बजारमा भैँसीको दूधको माग र मूल्य पनि बढी हुन्छ । त्योसँगै उनीहरुले पाडापाडी बेचेर पनि थप आम्दानी लिन सक्छन् । किसानले दूध बिक्रीबाट पनि राम्रो आम्दानी लिन सकून् भन्ने हाम्रो लक्ष्य हो ।’

त्यस्तै गाउँपालिकाले बाख्रापालनका लागि पनि उन्नत जातको बोका वितरण गरिरहेको जनाएको छ । खास गरेर गाउँपालिकाले वडा नं ४ बास्तिम, ५ सानोदुम्मा र ६ ठूलोदुम्मालाई बाख्रापालनका लागि उपयुक्त क्षेत्रका रुपमा छुट्याएको छ । तातो भूगोल तथा प्रशस्त चरण क्षेत्र भएकाले यो क्षेत्रमा व्यावसायिक रुपमा बाख्रापालनमा लागेका कृषकलाई पनि आवश्यकताका आधारमा प्रोत्साहनमूलक कार्यक्रम गरिरहेको गाउँपालिकाको पशु शाखाले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७