झोलुङ्गे पुल निर्माण गर्न माग


२ माघ २०७९, सोमबार
pul
फाइल फोटो

रसुवा । लाङटाङ जाने पर्यटकीय पदमार्गको झोलुङ्गे पुल जीर्ण भएकाले पुननिएर्माण गरिदिन स्थानीयवासीले संघीय सरकारसँग माग गरेका छन् ।

विसं २०७२ को गोरखा भूकम्पले सो पदमार्ग अन्तर्गत गोसाइँकुण्ड गाउँपालिकास्थित दोमेन खोलाको झोलुङ्गे पुललाई समेत क्षति पुर्‍याएको थियो । तत्काल आवागमन सञ्चालन गर्न निजीस्तरबाट काठेपुल निर्माण समेत गरिएको थियो । पछिल्लो समय सो काठेपुल समेत जीर्ण भइसकेका स्थानीयवासीले जनाएका छन् ।

हिमाली पदयात्राको लागि हजाराैं पर्यटक लाङटाङ जाने गर्दछन् । स्थानीयवासीले थाङसेप माथि छार्तिङ खोलामा समेत झोलुङ्गे पुल निर्माण गरिदिन माग गरिएका छन् । सो स्थानमा भूकम्पको असरले हिमपहिरो आउँदा सोे झोलुङ्गे पुल बगाइ पर्यटक आवागमनमा असर परेको जनाइएको छ । स्याफ्रुबेँसीदेखि खोलाको तिरैतीर लाङटाङ जाने १८ किलोमिटर पदमार्गअन्तर्गतका भागमा पर्ने झोलुङ्गे पुल निर्माणको साथसाथै पदमार्गसमेत मर्मत एवं पुनर्निर्माण गरिदिन माग गरिएको गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष डिण्डुप लामा ज्याङ्वाले बताए ।

पदमार्ग सहज नहुँदा विशेष गरी वर्षायाममा पदयात्रीको ज्यान समेत जोखिममा परिरहेको कारण सरोकारवाला निकायले समयमै ध्यान दिन स्थानीयद्वारा आग्रह गरिएको उनले बताए । लाङटाङ जाने बृद्विम तर्फबाट खाम्जिङ, शेर्पागाउँ, रिम्चेतर्फको पुरानो बाटो भए पनि स्याफ्रुबेँसीदेखि खोला तिरतिरैतर्फकै पदमार्ग बढी प्रयोगमा आउने गरेको छ ।

नेपालको तेस्रो पर्यटकीयस्थलको रूपमा मानिएको लाङटाङ पदमार्गको विकासका लागि नेपाल पर्यटन वोर्डलगायत सरोकारवाला निकायले विशेष कार्यक्रम ल्याई पर्यटन विकासको प्रवद्र्धनमा सहयोग गरिदिन लाङटाङका बासिन्दाले माग गरेका छन् ।

लाङटाङ पदयात्रामा जाने पर्यटकका लागि हिमालबाट हिउँ पग्लेर छ्याङछ्याङ गर्दै झरेको लाङटाङ खोलाको झर्ना, ठाउँठाउँमा बनेको ताल, भोजपत्र, ल्यारेक्स सल्लोलगायतका अनगिन्ती मिश्रण वनस्पति, सयौँ प्रजातिका चरा, फाट्टफुट्ट देखिने विविध प्रकारका जनावर, क्याङ्जेन भ्याली, मानव नजिक रहेको हिमनदी, यालापिक, गञ्जलालगायतका सम्पदाले मनमोहक बनाउने गरेको बताइएको छ ।

यसैगरी पर्यटकका लागि खानेपानीको व्यवस्था, फोहरमैलाको उचित व्यवस्थापनको कार्यक्रम समेत सञ्चालन गरिदिन लाङटाङका पर्यटन व्यवसायीले संघीय सरकारसंग आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७