सत्ता साझेदार दलको वैठक बस्दै, मन्त्रालय बाँडफाँट र मन्त्रीको नाम बुझाइने


२ माघ २०७९, सोमबार
Gathabandhan 1 scaled

काठमाडौँ । सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । आज बेलुकी ५ बजे बैठक बस्न लागेको समिति सदस्य एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पाँच घण्टा लामो छलफलपछि पौडेलले भने, ‘संयन्त्रका केही कार्यसूचीहरु बाँकी छन् । ती कार्यसूचीमा काम भइरहेको छ ।’ पौडेलले यो सरकार सत्ता साझेदार दलकै सहमतिअनुसार अघि बढ्ने बताए । बैठकपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिने पार्टीहरुको बैठक भोली बस्ने जानकारी दिएका थिए ।

बैठकले १७ मन्त्रालयको बाँडफाँट गर्ने जनाइएको छ । स्रोतका अनुसार दलहरुले पाउने मन्त्रालयको टुंगो लगाएर आजै नाम बुझाउने तयारी छ । ‘बैठक बैठकले मन्त्रालय भागबण्डाबारे निर्णय गर्नेछ,’ स्रोतले भन्यो, ‘त्यसपछि दलहरुले मन्त्रीहरुको नाम प्रधानमन्त्रीलाई बुझाउने छन् ।’

१० पुसमा ३ स्वतन्त्रसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ११ पुसमा एमालेबाट ५, माओवादीबाट २, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट १ र जनमत पार्टीबाट १ जनालाई लिएर ८ सदस्य मन्त्रिमण्डल बनाएका थिए । बाँकी १७ वटा मन्त्रालयको बाँडफाँटका विषयमा एमाले अध्यक्ष ओलीसँग मोडालिटी बनाइएको हो ।

सरकार सञ्चालन सघाउन एमाले अध्यक्ष ओलीको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएको छ । सो संयन्त्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सदस्य रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७