रुपन्देहीका तत्कालीन नापी अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा


५ माघ २०७९, बिहीबार
Akhtiyar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवेसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जग्गाधनीको अनुमति र जानकारी बिना नापी कार्यालयका कर्मचारीहरूले जग्गाको कित्ता हटाई नक्सा परिवर्तन गरेको खुलेपछि बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो । नापी अधिकृत दुवे, सर्वेक्षक ठाकुरप्रसाद गुरौ समेत चारविरुद्ध सरकारी कागजात सच्याउने कार्य गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

रुपन्देहीको साविक सेमलार गाविस–२ (ग), कित्ता नम्बर ३४८३ को ११ धुर क्षेत्रफल खरिद गरेकामा जग्गाधनीको कुनै अनुमति र जानकारीबिना नापी कार्यालयका कर्मचारीहरूले पछाडिको मोहडापट्टिबाट तीन धुर क्षेत्रफल जग्गा उक्त कित्ताबाट हटाई नक्सा परिवर्तन गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो ।

त्यसपछि सेमलार गाविस– २ (ग), कि.नं. ३५९४ कित्ताकाट गरी कि.नं. ४१९१ र ४१९२ कायम गर्दा कि.नं. ४१९१ लाई कि.नं. ३४३४ र कि.नं. ३५८८ को बीचमा घुसाई कि.नं. ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गरी सरकारी निकायको कागजातमा अनाधिकार वा गैरकानुनी तरिकाले सच्याउने वा हेरफेर गरी भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।

सो कार्यमा बुटवल उपमहानगरपालिका–१३ बस्ने शक्तिप्रसाद सापकोटा र पुष्पा सापकोटाले फाइदा लिने उद्देश्यले कि.नं. ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गर्ने कार्यमा सहयोग गरेको देखिएको आयोगले जनाएको छ । उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुरबमोजिमको कैद र जरिवानाको मागदाबी गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७