महिलाको संघर्ष र साहसको कथामा ‘देउराली डाँडी’


८ माघ २०७९, आईतवार
1674274121 Deurali 1200x560 1

काठमाडौं । वान वर्ल्ड थिएटर नेपालसँगको सहकार्यमा तयार भएको नाटक ‘देउराली डाँडी’ को मञ्चन पिङ्गलास्थानको ‘सत्यमोहन जोशी स्टुडियो थिएटर’ मा भइरहेको छ । रङ्गकर्मी सहलेसको लेखन तथा अमेरिकी रङ्गकर्मी रोज स्वाइट्जको निर्देशनमा तयार पारिएको नाटक गुरुङ समुदायमा प्रचलित घाटु नृत्यमा आधारित छ ।

घाटु नृत्य प्रदर्शन गर्ने गाउँको कथा भनिएको सो नाटकमा धेरै वर्षअघि फैलिएको महामारीले गाउँका सम्पूर्ण पुरुष परदेश गएका देखाइएको छ । उजाडिएको देउरालीमा महिलाले गरिरहेको सङ्घर्षकै बीच महामारीको लक्षण पुनः देखापरेपछि वैदेशिक रोजगारीमा जानुपर्ने डरले त्रस्त बनेको वातावरणलाई चित्रण गरिएको छ । सङ्घर्षको अन्तिम समयसम्म महिलाले घाटु नाचको कथा र गाउँको पुरानो जीवनशैली खोज्ने साहस र आशा नै ‘देउराली डाँडी’ हो ।

दिया मास्के, पशुपति राई, मेनुका प्रधान, बिनिता थापामगर, रञ्जना भट्टराई र सरस्वती चौधरीको अभिनय रहेको नाटक लम्जुङको नाल्मा गाउँमा गरिएको घाटु नाचको अध्ययन–अनुसन्धानको आधारमा बनाइएको निर्देशक स्वाइट्जले जानकारी दिए ।

एक घण्टा ५० मिनेटको उक्त नाटक विदेश जान विमानस्थलमा लाम बसेकाको सपना र विदेशबाट लास बनेर फर्केकाको विपनालाई चित्रण गरिएको छ । हुम बिसीले डिजाइन गरेको देउराली डाँडीको सुकेको रूख र दृश्य परिवर्तनले रङ्गमञ्चको पृष्ठभूमिमा राखिने सेतो र खैरो रङका पर्खाल र गाउँको ढुङ्गे धाराले कथाको भावलाई अथ्र्याएको पाइन्छ ।

सन्जिता पराजुलीको कस्ट्युममा कला संस्कृति र पहिचान झल्काउने वेशभूषामा कलाकारहरू स्वभाविक देखिएका छन् । रङ्मञ्चको एउटा कुनामा बसेर धुन बजाइरहेका वाद्यवादक चन्द्रकुमार गन्दर्भ र सुबलमणि सापकोटाको मधुर धुन नाटकभर सुनिन्छ ।

सह–निर्देशक विजया कार्कीका अनुसार यो नाटक माघ १५ गतेसम्म नियमित मञ्चन हुनेछ । ‘नाटकले विदेशिने परम्परामा रहेका पुरुष र महिलाको बाध्यतालाई पनि चित्रण गरेको छ । यसमा घाटु नाच र विदेसिने संस्कृतिले निम्त्याएको अवस्थालाई चित्रण गर्न खोजिएको छ’, सहनिर्देशक कार्कीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७