चोरी गर्न गएका व्यक्तिको घरको गेटमा अड्किएर गयो ज्यान


८ माघ २०७९, आईतवार
adkera death modified Tib7U6Dmq7

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगर– १० मा एक व्यक्तिको घरको मेन गेटमा अड्किएर ज्यान गएको छ । स्थानीय कृष्णराजा गुप्ताको घरमा सोही नगरपालिका–१२ का ४० वर्षीय जितबहादुर भण्डारीको गेटको रडमा कपडा अड्किएर झुण्डिन पुग्दा मृत्यु भएको हो ।

भण्डारी हतारमा गेट चढ्दाचढ्दै कपडा अड्किएर झुण्डिँदा मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालय बाँकेमा डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । भण्डारीको विगतमा पनि आचरणमा ठिक नभएको घर्तीले बताए । उनी सो घरमा चोरी गर्न गएका हुन् कि भन्ने आशंका गरिएको छ । राति के कारणले उनी अर्काको घरको गेटमा चढ्न पुगे भन्ने विषयमा भने अनुसन्धान भइरहेको डीएसपी घर्तीले बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा शाखाका प्रहरी निरीक्षक चक्र डम्मर पालका अनुसार उनको शरीरमा कुनै चोटपटक छैन । ‘गेट नाघेर भित्र जान खोज्दा गेटको माथिको तिखो भागमा ट्राउजर अड्किएको थियो । ट्राउजरमा झुण्डिएर ओरालो मुन्टो भएका कारण उसको ज्यान गएको देखिन्छ’, डीएसपी घर्तीले भने ।

उनी यसअघि पनि ७ पटक चोरीको आरोपमा पक्राउ परेका थिए। २७ वर्ष पहिलेदेखि चोरीमा संलग्न भण्डारी छुटेपछि पनि चोरीमै संलग्न रहँदै आएका थिए । पक्राउ परेर प्रहरी कार्यालय लगे पनि उनले बयानमा आफन्त कोही नभएको बताउँदै आएका थिए । उनका परिवारले भने २७ वर्ष पहिलेदेखि घर नफर्किएको र लागुऔषधमा फसेको प्रहरीलाई बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७