प्रधानमन्त्रीलाई दिएको विश्वासको मतले कांग्रेसभित्र असन्तुष्टि, फिर्ता लिन माग


९ माघ २०७९, सोमबार
deuwa shekhar
फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको विषयले नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको छ । नेता शेखर कोइराला पक्षीय सांसदहरूले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत तत्कालै फिर्ता लिनुपर्ने माग गरेका छन् ।

कोइराला पक्षधर सांसदहरुको हिजोको बैठकमा प्रधानमन्त्रीलाई कांग्रेसले दिएको विश्वासको मत, पार्टी नेतृत्वको कार्यशैली र माघ १५ गते बस्ने केन्द्रीय समिति बैठकलगायतका विषयमा छलफल भएको छ । भोलि फेरि बैठक बसेर आफ्नो रणनीति तय गर्ने उनीहरुको तयारी छ ।

प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्नु नेतृत्वको कमजोरी भएको भन्दै उनीहरुले पार्टी सभापतिको कार्यशैलीको आलोचना गरेका छन् । यसअघि पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा कांग्रेसमा विरोध भएको थियो ।

महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गलत हुने भन्दै असहमति जनाएका थिए । त्यसबेला सभापति शेरबहादुर देउवाले पदाधिकारीहरूसँग छलफल गरेर त्यसबारे निर्णय लिने प्रयास गरे पनि विरोध बढ्न थालेपछि अन्तिम समयमा कार्यसम्पादन समितिबाट विश्वासको मत दिने निर्णय भएको थियो ।

देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सभामुख र उपसभामुखको चुनावमा फरक समीकरण बनाउन प्रयास गरे पनि त्यो सफल हुन सकेको छैन । कोइराला पक्षधर नेताहरुले सभापति देउवाबाट फेरि गल्ती भएको भन्दै अब पार्टीलाई सही ढङ्गले अघि बढाउन प्रभावकारी योजनाका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७