सियाले खोलामा ५६ लाख लागतमा झोलुङ्गे पुल बन्दै


१० माघ २०७९, मंगलवार
SG Myagdi IMG 2236 scaled
फाइल फोटो

सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका–३ र ४ स्थित सियाले खोलामा झोलुङ्गे पुल बन्ने भएको छ । पुल नहुँदा वर्षातका समयमा दुवै वडाका स्थानीयवासीलाई आवतजावत र खेतीपाती गर्न जान समस्या हुँदै आएको थियो । सुनकोसी गाउँपालिका र स्थानीय झोलुङ्गे पुल कार्यक्रममार्फत उक्त खोलामाथि ‘स्टिल बिज्र’ निर्माण हुने भएपछि दुवै वडाका स्थानीय खुसी भएका छन् ।

सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले सोमबार शिलान्यास गर्दै चालु आर्थिक वर्षभित्रै झोलुङ्गे पुलको निर्माण सम्पन्न हुने जानकारी दिए । सुनकोसी–३ को पुरानागाउँ र ४ को भिरकुले बस्ती जोड्ने सो पुल ९६ मिटर लामो हुने सुनकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।

५६ लाख ७८ हजार एक सय ३७ को लागतमा निर्माण हुने झोलुङ्गे पुलका लागि आवश्यक पर्ने ‘स्टिल पार्टस्’ को रु १५ लाख ४७ हजार चार सय ८५ मा ठेक्का सम्झौता भएको छ । अन्य निर्माण भने उपभोक्ता समितिमार्फत हुने गाउँपालिकाका इञ्जीनियर बद्री भुजेलले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७