गर्भवती जानकीले पाइनन् एम्बुलेन्स, बसबाट अस्पताल जाँदा बाटैमा गयो ज्यान


१० माघ २०७९, मंगलवार
sutkeri
सांकेतिक तस्वीर

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–१ पिनालेककी २६ वर्षीया गर्भवती जानकी विकको मृत्यु भएको छ ।
जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार दुई दिनअघि उपचारका लागि भारत लैजान सिफारिस भए पनि ढिलाइ भएकाले मृत्यु भएको बताए ।

‘चैतमा सुत्केरी हुँदै हुनुहुन्थ्यो, हामीले उपचारका लागि भारत लैजान सिफारिस गरेका थियौं’, उनले भने, ‘ढिलो गरी लैजाँदा गर्दा बाटोमा गाह्रो भएपछि अछामको बयालपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जानकारी पाएका छौँ ।’

विकलाई महेन्द्रनगरतर्फ बसमार्फत् लैजाने क्रममा चौखुट्टेमा समस्या आएपछि उपचारका लागि बयालपाटातर्फ लगिएको थियो । बयलपाटा अस्पतालमा कार्यरत अहेव भवानी ढुङ्गानाले विकको अस्पताल आउनु अघि बाटोमै मृत्यु भइसकेको र बच्चा पनि पेटमै मृत्यु भइसकेको जानकारी दिए । विक मुटुरोगी पनि थिइन् । उनका श्रीमान् रमेश भारतमा काम गर्थे । त्यसैले उनले गर्भवती श्रीमतीलाई थप उपचारको लागि भारतको दिल्ली लैजाने तयारी गरेका थिए ।

उनले बाजुरामा एम्बुलेन्सको खोजी गरे तर पाएनन् । आर्थिक अवस्था पनि कमजोर भएकाले सार्वजनिक यातायात (बस) मै महेन्द्रनगर हुँदै दिल्लीतर्फ जाने निधो गरे । सोमबार उनीहरू बाजुराबाट बस चढेर आएका थिए । बसमा महेन्द्रनगरतर्फ आउँदै गर्दा जानकीलाई अछाम र डोटीको सीमाना चौखुट्टेमा ब्यथाले च्यापेको थियो । ‘बाटोमा अफ्ठ्यारो भएपछि जिपमा अछामको बयलपाटा अस्पतालतिर लगेछन्, अस्पताल नपुग्दै ज्यान गएको हो,’ प्रवक्ता पाध्यायले भने, ‘बच्चा पनि सकुसल रहेनन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७