तीन सरकारी वाणिज्य बैंकहरु पनि मर्जर हुनुपर्छ : गभर्नर अधिकारी


१० माघ २०७९, मंगलवार
Maha prasad adhikari scaled

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीन वटा सरकारी वाणिज्य बैंकहरु पनि मर्जर हुनुपर्ने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरकारको लगानी रहेका तीन वटा वाणिज्य बैंकहरु पनि आपसी छलफल गरेर मर्जरमा जानुपर्ने बताएका हुन् ।

उनले पछिल्लो समय निजी क्षेत्रका वाणिज्य बैंकहरुको मर्जरले सरकारी बैंक सानो हुन नखोज्दा खोज्दै पनि सानो बन्नुपर्ने अवस्था आएको भन्दै सरकारी बैंकहरुले पनि अहिलेको आवश्यकतालाई बुझेर मर्जरमा जानुपर्ने बताए ।

सरकारले अहिले निजी क्षेत्रका बैंकको मर्जरमा राष्ट्र बैंकले बाध्यात्मक व्यवस्था नगरेको पनि उनले बताए । गभर्नर अधिकारीले निजी क्षेत्रका बैंकहरुले अहिलेको व्यवसायिक आवश्यकता बुझेर मर्जर गरिरहेको बताए ।

उनले सरकारी बैंकहरु अहिलेको व्यवसायिक आवश्यकता बुझ्न पछाडि भएको शंका राष्ट्र बैंकलाई लागेको बताए । उनले सरकारी बैंकहरुले आवश्यकतालाई महसुस गरेर नेपाल सरकार र तीन वटा सरकारी बैंकहरुबीच छलफल गरेर वास्तविक आवश्यकता हो भने मर्जरका लागि अगाडि बढ्नु उपयुक्त हुने बताए ।

उनले भने, ‘ अहिले वित्तीय प्रणालीमा बैंक छ, घटेका छैनौं, ठूलै छौं । विगतको भन्दा तल गएका छैनौं । अरु बैंकसँग स्वाभाविक रुपमा सानो भएका छौँ । अहिले बैंकहरुको बिग मर्जरको प्रक्रियाले बैंकलाई सानो बन्न नखोज्दा खोज्दै पनि सानो भइरहेका छौँ । बैंक मर्जरमा राष्ट्र बैंकले बाध्यात्मक व्यवस्था गरेको थिएन । बैंकहरु आफैँले व्यवसायिक आवश्यकता बुझेर मर्जर गरिरहनुभएको छ । कतै सरकारी बैंकहरु यो आवश्यकता बुझ्न पछाडि हुनुहुन्न भन्ने हामीलाई शंका लागिरहेको छ ।’

गभर्नर अधिकारीले बैंकिङ व्यवसाय चुनौतिपूर्ण व्यवसाय भएको बताए । उनले एउटा बैंकको ६ अर्बको कर्जा ६ महिना उठ्न नसके ३ अर्बको पुँजी व्यवस्था गर्नुपर्ने अवस्था आउने बताए । उनले राष्ट्र बैंक मुलुकभर बैंकिङ सेवा बिस्तार गर्न लागिरहेको पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७